लकडाउनमा पत्रकारको तलब कटौती र निस्कासन नगर्न फोनिजको आग्रह

लकडाउनमा पत्रकारको तलब कटौती र निस्कासन नगर्न फोनिजको आग्रह

Fonij

काठमाडौ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले कोरोना भाइरसको सङ्कटलाई देखाएर पत्रकार निस्काशन तथा तलब कटौती नगर्न सम्बन्धित सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

‘लकडाउन’को कारण देखाउँदै नेपालका अधिकांश सञ्चारमाध्यमले त्यहाँ कार्यरत पत्रकारलाई निस्काशन गर्नका साथै तलबसमेत कटौती गरेका अवस्थामा फोनिजले त्यसो नगर्न आग्रह गरेको हो ।

भिडियो कन्फ्रेन्समार्फत आज साँझ बसेको फोनिज संघीय समितिको बैठकले सबैखाले सञ्चारगृहलाई विशेष राहत प्याकेज दिन तीनै तहका सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङले बताए ।

“नेपालमा लागू गरिएको लकडाउनको मार अहोरात्र खटिने श्रमजीवी पत्रकारमासमेत परेको छ”, उनले भने, “जनतालाई सुसूचित गराउने पत्रकारको प्रोत्साहनका लागि भए पनि विशेष राहत प्याकेज उपलब्ध गराउन जरुरी छ ।”

बैठकले कठिन अवस्थामा खटिएका पत्रकारलाई समाचार सङ्कलन गर्न आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरेको छ ।

सञ्चारगृहले उपलब्ध गराएको परिचयपत्रका आधारमा पत्रकारलाई निर्बाध समाचार सङ्कलन गर्न दिन सम्बन्धित निकायसँग तथा सङ्कटका घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारलाई आग्रह गर्नेलगायत निर्णय गरिएको छ ।

लकडाउन पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठनका सबै प्रदेश समितिलाई भर्चुअल बैठक गर्न आग्रहसमेत गरिएको फोनिजका महासचिव मनोज घर्ती मगरले जानकारी दिए ।

बैठकमा फोनिजका सातै प्रदेश प्रमुखले आआफ्ना क्षेत्रमा गरिएका क्रियाकलापबारे मौखिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ