पाकिस्तानको घना बस्तिमा विमान दुर्घटना: १०७ जनाको मृत्यु

पाकिस्तानको घना बस्तिमा विमान दुर्घटना: १०७ जनाको मृत्यु

Patistan Paln Crash Karachi

एजेन्सी । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो ।

मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन् ।  क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए ।

विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।

घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरेका छन् ।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds