पोखरा । झण्डै ३२ वर्ष अघि २०४५ सालमा निर्माण भएको पोखराको एकमात्र सभागृह ‘दीपेन्द्र सभागृह’ । राजनीतिक परिवर्तनसँगै सभागृहको नाम अघिको ‘दीपेन्द्र’ हट्यो, ‘पोखरा’ जोडियो । तर, सभागृहको हालत झन् लथालिंग । स्मार्ट सिटीको नारा लगाएको पोखरा महानगरपालिका मातहत नै छ यो सभागृह । तर, जनप्रतिनिधि चुनिएको ३ वर्ष बितिसक्दा समेत न त यसको मर्मत भएको छ, न त नवनिर्माण । छानो चुहिन्छ, ठाउँ ठाउँमा भ्वाङ । सयौं कुर्सी भाँचिसकेको । रंग उडेको भित्तो, डुङडुङ्ती गन्हाउने चर्पी, घाँसले छोपिएको परिसर । पोखरा सभागृहको अहिलेसम्मको रुप यस्तै हो ।
तर, तीन दिनमै पोखरा सभागृहको स्वरुप फेरिँदैछ । यसको कारण हो, कोरोना महामारी । जसको संक्रमणबाट बच्न र सावधानी अपनाउन गण्डकी प्रदेश सरकारको प्रदेशसभा नै यही सभागृहमा बस्दैछ । नदिपुर स्थित प्रदेश संसद भवन साँघुरो भएको कारण पोखरा सभागृहलाई फाइदा मिलेको हो । कोरोना भाइरसका कारण सावधानीपूर्वक र सामाजिक दुरी कायम गरी संसद चलाउनुपर्ने भएकाले पोखरा सभागृह चयन गरिएको हो ।
https://www.facebook.com/gandaknews/videos/1341056789616794/
मुख्यमन्त्री, पोखरा महानगरपालिकाका प्रमुख र प्रदेश सभामुखको छलफलपछि वैशाख ११ गतेबाट गण्डकी प्रदेशको बजेट (बर्खे) अधिवेशन पोखरा सभागृहमानै सञ्चालन गर्ने निधो भएपछि धमाधम सभागृह मर्मत सम्भार भइरहेको छ । बर्खे अधिवेशन ११ गते आह्वान गर्ने निर्णय गण्डकी प्रदेश मन्त्रिपरिषदको ४ जेठको बैठकले गरेको थियो । यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । यसअघि २३ पुसमा सुरु भएको प्रदेशको हिउँदे अधिवेशनको अन्तिम बैठक चैत ६ गते डाकिएकोमा सूचना टाँसेर स्थगित भएको थियो ।
भोलि आइतबारसम्म ठाउँ तयार गरिसक्नुपर्ने भएकाले रातदिन काम भइरहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पोखरा सभागृह मर्मत सम्भार गरिरहेको हो । भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत आफै सभागृहमा निर्देशन दिइरहेको भेटिन्छ । सभामुख, मुख्यमन्त्री, दलका नेताका आसन तयार गर्ने, दलको कार्यालय, कार्यव्यवस्था समितिको बैठक स्थल, रोस्टमका कुर्ची फेर्ने, रङ लगाउने, शौचालय तयार गर्ने, बत्ती हाल्ने, इन्टरनेट जडान लगायतका काम भइरहेका छन् । भाँच्चिएका कुर्चीले पनि नयाँ रुप पाएका छन् । भित्ता र सिलिङमा पनि सम्भव भएसम्म रंगरोगन गरिएको छ ।
२५ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । सभागृह मर्मत खर्च प्रदेश सरकारले नै व्यहोर्ने निर्णय भइसकेको छ । गण्डकी प्रदेशमा ६० जना सांसद छन् । सांसदहरुलाई २ कुर्सी छाडेर बस्ने व्यवस्था मिलाईंदैछ । सभागृहको माथिल्लो हलमा दर्शकदीर्घाको व्यवस्था गरिने भएको छ । माथिल्लो हलमा पत्रकार र दर्शक जाने तथा तल्लो हलमा सांसदहरू प्रवेश गर्ने ढोका पनि छुट्टाछुट्टै हुनेछन् ।

नदीपुरको प्रदेश सभामा जस्तो सांसदका लागि माइकको व्यवस्था हुनेछन् । सत्ता पक्ष र प्रतिपक्षका निम्ति दुईतिर माइकको व्यवस्था मिलाइएको छ । बोल्न समय लिने सांसदले आफ्नोतिरको माइकमा गएर बोल्ने छन् । तर, टेबल ठोक्ने सुविधा भने हुनेछैन ।
कोरोना भाइरसको संक्रमणका कारण दर्शकदीर्घामा ठूलो भिड हुन नदिने विधि अपनाएको छ । बजेट अधिवेशनमा धेरै जनालाई नबोलाउने तर युट्युबमार्फत प्रत्यक्ष प्रशारण गर्ने भएको हो । प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारीले बर्खे अधिवेशन पूरै सभागृहमा सञ्चालन गरिने जनाएका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन