गण्डकी प्रदेशको बजेट अधिवेशन सभागृहमा सुरु, गण्डकीमा साउनसम्म २७ हजारको पीसीआर परिक्षण गरिने

गण्डकी प्रदेशको बजेट अधिवेशन सभागृहमा सुरु, गण्डकीमा साउनसम्म २७ हजारको पीसीआर परिक्षण गरिने

Samsad savagriha 1

पोखरा । गण्डकी प्रदेशको बजेट एवं वर्षे अधिवेशन पोखरा सभागृहमा आइतबारदेखि सुरु भएको छ । पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरुसहित मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका छन् । दोस्रो बैठक जेठ १३ गते दिउँसो १ बजे बस्नेछ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत यो अधिवेशनमा गर्नेछ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नेपाल भारत सीमा विवादका साथै कोरोना विषयले स्थान पायो । बोल्ने सबै जना यही दुई विषयमा केन्द्रित रहे ।

कोरोनाका कारण अवसरहरु पनि सिर्जना भएका छन्ः मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसलाई चुनौतीका रुपमा मात्र नलिएर अवसरका रुपमा पनि उपयोग गर्नुपर्ने बताए । स्वास्थ्यको पूर्वाधारमा मुलुक निकै कमजोर रहेको भन्दै यो महामारीले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई ध्यान दिन सबैको चेत खुलेको बताए । स्वास्थ्य पूर्वाधारका लागि पर्याप्त बजेट बिनियोजन हुनु पर्ने पनि उनको भनाई छ ।

गुरुङले अबको बजेट कोभिड १९ विशेष हुने बताए । उनले कोरोना भाइरसका कारण गण्डकी प्रदेशमा १९ अर्ब नोक्शान भयो कि भन्ने आँकलन रहेको बताउँदै अझै जेठ असार बाँकी रहेकाले यसैलाई ध्यान दिएर सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा मुख्यमन्त्री गुरूङले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले गरेका कामबारे जानकारी गराए। गण्डकी प्रदेश सरकारको आउँदो साउनसम्म विदेशबाट आउने २७ हजार जनाको पीसीआर परीक्षण गर्ने लक्ष्य समेत लिएको छ ।सरकारले लकडाउन घोषणा गर्नुअघि नै गण्डकी प्रदेशले कोरोनाभाइरस रोकथामका लागि योजना बनाइसकेको दाबी गर्दै गुरूङले लकडाउन भएपछि प्रदेशलाई पनि रोकथाम र नियन्त्रणमा सहज भएको बताए। भारतसँग सिधै आवतजावतको मूख्य नाका नभएका कारण पनि गण्डकी प्रदेश कोरोना संक्रमणबाट बचेको उनको भनाई छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले एउटा भाइरसका कारण विश्व आक्रान्त बनेको चर्चा गर्द आर्थिक क्षतिबाट जोगिन बृहत राहत कार्यक्रम ल्याउन माग गरे। श्रमिक, बेरोजगार, पर्यटन व्यवसायी, उद्योगी, व्यवसायीलाई तत्काल बृहत राहत प्याकेज ल्याउन उनको जोड थियो ।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापाले भारतको सीमानामा रोकिएका नेपाली ल्याउनुपर्ने बताए। उनले सांसदलाई पैसा बाँडेर एकल महिला र अपाङ्गलाई दिने भत्ता कटौती गर्न नहुने उनले बताए। लकडाउनका कारण मजदुर र बेरोजगारलाई गुजारा चलाउन मुस्किल परेको भन्दै यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्यले दलहरुबीच एकता हुनुपर्नेमा आरोप प्रत्यारोपमा उत्रिएकोमा गुनासो पोखे । अहिले नेता डा. बाबुराम भट्टराईप्रति चारैतिर आलोचना भएकोतर्फ उनको भनाईले संकेत गरेको थियो । आचार्यले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै कोरोनाका बेलामा समेत भ्रष्टाचार बढेको बताए।

केपी ओली भाग्यमानी छन्, झण्डै मरेको मान्छे बाँचेर भूमि फिर्ताको अवसर मिल्योः मुख्यमन्त्री गुरूङ

यसैबीच, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली भाग्यमानी मान्छे रहेको पनि बताए ्। अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरूङले भने, ‘झन्डै मरिसकेको मान्छे बाँचेर आज सीमा फिर्ता ल्याउनु पर्ने रहेछ । त्यो अवसर उहाँलाई मिल्यो।’ उनले केपी ओली सपुत रहेको पनि बताए । दर्जनौं प्रधानमन्त्री फेरिएपनि कसैले भूभाग फिर्ता ल्याउन नसकेको उनको भनाई थियो ।

सरकारले नयाँ नक्सा जारी गरेर ३३५ वर्ग किमी भूभाग नेपालको सीमाभित्र पारेपछि लामो कूटनीतिक लडाइँ सुरू भएको उनले बताए। नेपालले आफ्नो देशको पक्षमा केही गर्न लाग्यो कि भारतले नाकाबन्दी लगाउने गरेको उनले चर्चा गरे। भारतले भने अनुसारको संविधान नबनाउँदा २०७२ सालमा नाकाबन्दी लगाएको दाबी गर्दै उनले त्यतिबेला तराईका दलहरू भारतको निर्देशनमा चलेको आरोप लगाए।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भारतले जारी गरेको राजनीतिक नक्साले नेपालको राष्ट्रियतामा प्रहार गरेको बताए। सरकारले नक्सा जारी गरेपछि सबै दल, नागरिक समाज र आम नागरिकले स्वागत गरेको उनले बताए। तर, भारतले लिपुलेक हुँदै मानसरोबर जाने बाटो बनाउँदै गरेको कुरा प्रधानमन्त्रीले थाहा पाइनँ भनेर बोलेकोमा खेद समेत व्यक्त गरेका थिए।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापाले कालापानीबाट भारतीय सेना हट्नपर्नेमा जोड दिँदै सरकारले नक्सा जारी गरेकोकोमा खुशीका साथ यसको आफ्नो दलले स्वागत गर्ने बताए। नेपालमा लेन्डुप दोर्जे जन्मने हो कि भनेर आशंका पनि व्यक्त गरे।

जनता समाजवादी पार्टीका हरिशरण आचार्यले पृथ्वीनाराण शाहले अर्काको भूमि कब्जा गरे पनि जनताको भावना समेट्न नसकेको बताए। यो सरकार पनि जनताको भावनालाई समेट्दै हल्लाभन्दा कुटनीतिक हिसाबमा अघि बढ्न आग्रह गरे ।

तस्विर सौजन्यः दुर्गाप्रसाद पौडेल, युनिश गुरुङ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ