नेपालमा आज ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो, ४६ जिल्लामा फैलियो कोरोना

नेपालमा आज ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो, ४६ जिल्लामा फैलियो कोरोना

Corona Positive

काठमाडौं । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।

महोत्तरीका २ जना रहेका छन् । यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ । रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । एक जना जनकपुर अस्पतालमा उपचाररत धनुषाका पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ वर्षिय बालिका पनि छन् । रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ । यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ११ हजार ६६, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६१, बागमती प्रदेशमा २४ हजार २ सय १६ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १६ हजार ८ सय ८०, कर्णाली प्रदेशमा १० हजार ६ सय १८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ जनाको आरडिटी परीक्षण भएको छ ।

क्वारेन्टाइनमा अहिलेसम्मकै उच्च संख्यामा रहेका छन् । देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार बढी छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८, प्रदेश नम्बर २ मा १० हजार ५ सय ३५, बागमती प्रदेशमा ९ सय ६४ र गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २३ हजार ५ सय ८९, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ गरी देशभरी ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ