स्वदेशी तरकारी खाल्डोमा, भारतीय तरकारी भान्सामा! पोखरा १५ र ३३ मा तरकारी गाडियो (भिडियो)

स्वदेशी तरकारी खाल्डोमा, भारतीय तरकारी भान्सामा! पोखरा १५ र ३३ मा तरकारी गाडियो (भिडियो)

tarkari pokhara gandak

पोखरा । कोरोना कसरी सर्छ ? कुन माध्यमबाट फैलिन्छ ? ढुवानीका सामानहरुसँगै कोरोना आउँछ ? ति कति समयसम्म सक्रिय रहन्छन् ? अहिलेसम्म कुनै पनि अध्ययनले ठोस रुपमा प्रष्ट पारिसकेको छैन । नेपालमा भने तरकारी तथा फलफूलबाट कोरोना सर्ने भन्दै एक जिल्लाबाट अर्को जिल्लामा भित्रन समेत दिएका छैनन् । कुनै जिल्ला प्रशासनले त निर्णय नै गरेर तरकारी भित्रन नदिने भन्यो । स्थानीय तह त प्रायः धेरैको यस्तै निर्णय छ ।

किसानले दुःख गरी उब्जाएका तरकारी फलफूल नष्ट गर्ने क्रम रोकिएको छैन । चितवन, रुपन्देही, कपिलवस्तु, काभ्रेदेखि तराई क्षेत्रमा किसानहरुले तरकारी बेच्न नपाउँदा बारीमै कुहिएर मल बनेको, ट्याक्टर चलाएर नष्ट गर्न थालेको समाचारहरु आइरहेका छन् । तर, भारतबाट आयातित तरकारी फलफूल भने दलाल, विचौलियाले सबैलाई आर्थिक प्रभावमा पारी शहर भित्राइरहेका छन् । निर्बाध रुपमा उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा हरियो तरकारी नष्ट गरिएको समाचार आइरहँदा कास्कीमा समेत एकपछि अर्को गरी तरकारी नष्ट गर्ने काम भइरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १५ का स्थानीयले जेठ १५ गते तरकारी र फलफूल बोकेका ६ वटा ट्रक नियन्त्रणमा लिए । तरकारीलाई सुरक्षित बनाउनुको सट्टामा डोजर बोलाएर खाल्डो खनेर गाडिदियो । तरकारी तथा फलफूलबाट कोरोना सर्ने भएर नष्ट गरिएको लाजमर्दो जवाफ दिन्छन् वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेल ।

पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्समा तरकारी पसल चलाउँदै आएका हरि गौतमले कम्प्लेक्स बन्द भएपछि पोखरा १५ स्थित घरबाटै तरकारी विक्री गर्ने उद्देश्यले ल्याएका तरकारी स्थानियको उक्साहटमा यसरी नष्ट गरिएको हो । कालाबजारी गरेको आरोप समेत उनीमाथि छ । सुपथ मूल्यमा तरकारी उपभोक्ताले नपाएको हो भने सोहि अनुसार कारबाही गर्ने कानुनी व्यवस्था छ । तर, स्थानिय उग्र बनेर डोजर खर्च नै व्यहोरेर ठूलो परिमाणको तरकारी नष्ट गरियो ।

https://youtu.be/nofJGAqWZ6U?t=1054

यस्तै, पोखरा ३३ बागमारामा पनि भोलिपल्ट तरकारी उसैगरी गाडियो । धादिङबाट ल्याएको तरकारी समेत त्यहाँका स्थानीय, टोलविकास, आमासमूह, जनप्रतिनिधि नै मिलेर डोजरले खाल्डो खनेर पुरिदिए । बागमारा हुँदै चोरबाटो घुमाएर पोखरासम्म ढुवानी गर्न लागिएकाले नष्ट गर्नुपर्ने उनीहरुको एक स्वर थियो । स्थानिय महिलाहरुले आफ्नो तरकारी नबिकेको तर्क गरेका छन् । तर, पोखरामा चर्को अभाव छ ।

वडाअध्यक्ष शिवप्रसाद आचार्यले सबैको सहमतिमा निर्णय लिने प्रतिक्रिया दिएका थिए । तर पछि डोजरले नै खाल्डो खनेर तरकारी गाडिएको थियो ।

https://youtu.be/lNJE0gR5LKM

तनहुँको दमौलीबाट पहिले यसैगरी बाहिरी जिल्लाबाट आएका सामानहरु फर्काएपनि पछि भने शुक्लागण्डकी नगरपालिका र ब्यास नगरपालिकाले पनि यस्तै हर्कत गरेको थियो ।

पोखरामा चर्को अभाव, चर्को मूल्य

पोखरामा तरकारी अभाव भएको छ । गोलभेडा नै प्रतिकिलो १२५ रुपैयाँमा कारोबार भइरहेको ग्राहक बताउँछन् । तरकारी आएकै छैन भन्दै विक्रेताले भाउ बढाएर बेचेका छन् । पोखरा आसपासमा उत्पादन भएको तरकारीले पोखराको माग धान्दैन । चितवन र धादिङबाट ठूलो परिमाणमा पोखरा शान्तिबन स्थित सब्जी मण्डीमा तरकारी आउँछ ।

पोखरा महानगरपालिकाले गत जेठ ११ गते राखेको सर्वपक्षीय बैठकले कास्कीमा कुनै जिल्लाबाट तरकारी भित्र्याउन नपाइने निर्णय गरेकोले सोहि अनुसार गरेको वडाअध्यक्षहरु बताउँछन् । तर, यो अव्यवहारिक निर्णयलाई पोखरा महानगरले सोमबार सर्वत्र आलोचना भएपछि फिर्ता लिएको छ ।

करेला पुरेर कोरोना हट्दैन, तरकारी फलफूलबाट सर्दैन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि तरकारी र फलफूल नष्ट गर्ने अभियान चलाउनु स्थानीय तह र जिल्ला प्रशासनको अज्ञानता भएको बताइसकेको छ । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले तरकारी र फलफूल तथा खाद्यान्नका कारण विश्वमा कोरोना सरेको वा सर्न सक्ने कुनै वैज्ञानिक प्रमाण पत्ता नलागेको प्रतिक्रिया अनलाइनखबरसँग दिएकी छन् । ‘बिक्री केन्द्रमा भिडभाड भयो भने मानिसबाट मानिसमा सर्न सक्छ, तर तरकारी र फलफूलबाट रोग फैलिँदैन,’ खाद्य सुरक्षा विज्ञ डा.जोशीले भनिन् ।

वरिष्ठ जन स्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पनि तरकारीबाट कोरोना सरेको प्रमाण नभएको बताएका छन्। उनले आफ्नो फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै संस्थागत निर्देशनबाट भ्रम सिर्जना भएको उल्लेख गरेका छन्। उनले जनचेतना अभिवृद्धि गर्ने निकायमा धनचेतना मात्र भएका पात्र र प्रवृति कायम रहेसम्म यस्ता घटना आइरहने उल्लेख गरेका छन्। तरकारी ल्याएका भाँडा र बोरालाई सामान्य तरिकाले संक्रमणरहित बनाउने, तरकारीलाई राम्रोसँग पखाल्ने र घाम र हावामा राखेपछि संक्रमणरहित हुने डा. पाण्डेले उल्लेख गरेका छन्। उनले उपभोक्तालाई सुरक्षित भएर पकाएर खाँदा डर मान्नुनपर्ने बताएका छन्।

भारतीय तरकारी भने बजारमा

बन्दाबन्दीले स्वदेशका कृषकले तरकारी बारीमै कुहाउनुपर्ने बाध्यतामा रहँदा भारतबाट भने तरकारी, फलफूल र खाद्यान्न आयात निरन्तर छ । खाद्यवस्तु तथा तरकारीबाट कोरोना सर्ने वैज्ञानिक कारण नपाइएपछि सरकारले नै आयात खुल्ला गरेको छ ।

लकडाउन भएको चैत ११ देखि जेठ ११ सम्मको २ महिनाको अवधिमा नेपालले भारतबाट एक लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न, ७५ हजार तीन सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ सय ५७ मेट्रिकटन गेडागुडी, २९ हजार एक सय १५ मेट्रिक टन फलफूल र ११ हजार २ सय ४३ मेट्रिकटन दुग्धजन्य पदार्थ आयात गरेको भन्सार विभागले जनाएको छ ।

तस्विरः गण्डकी टेलिभिजन

थप भिडियोहरुः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ