पोखरामा उच्च सतर्कताको खाँचोः ‘आतंकित होइन, सतर्क बनौँ’

पोखरामा उच्च सतर्कताको खाँचोः ‘आतंकित होइन, सतर्क बनौँ’

Pokhara corona

पोखरा । आजसम्म नेपालका ७७ जिल्लामध्ये ७० जिल्लामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । हिजो शुक्रबारसम्म संक्रमण सूचीको लिस्टमा नभएको कास्कीमा दोस्रो दिनमै संक्रमितको संख्या ४ पुगेको छ । पहिलो दिन पोखरा महानगरमै बस्ने एक जना पुरुषमा संक्रमण पुष्टि भयो । मंगलबार बेहोसी अवस्थामै काठमाण्डौ लगिएको कारण उनलाई यहाँ नै कोरोना संक्रमण भएको प्रमाणित हुन्छ । शनिबार बिहान ३ जना थपिए । पोखरा महानगरकै एक र रुपा गाउँपालिकाका दुई जना गरी कास्की जिल्लामा ४ जना पुग्यो ।

शुक्रबार काठमाण्डौमा कोरोना पोजेटिभ देखिएका ६० बर्षिय पुरुषको काठमाण्डौमै ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना विशेष आइसोलेसन वार्डमा भर्ना गरिएको छ । स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार कास्कीमा ४ सहित यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेशमा कोभिड १९ को संक्रमितहरुको जम्मा संख्या ७५ पुगेको छ ।

कास्कीकै पहिलो संक्रमित ‘हाइप्रोफाइल’ व्यक्ति

काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको सम्पर्कमा आएका पोखराका हाइप्रोफाइल सहितका करिब ५ दर्जन व्यक्तिहरु स्वास्थ्य निर्देशनालय गण्डकी र पोखरा महानगरपालिकाको सम्पर्कमा आएका छन् ।

संक्रमित पुरुष कानुन र शिक्षा क्षेत्रमा पोखरामा योगदान दिइरहेका व्यक्ति भएका कारण प्रायः कानुन व्यवसायी, प्राध्यापकहरु नै रहेका छन् । उनको सम्पर्कमा आउनेको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम शुक्रबार उनलाई कोरोना पुष्टि भइसकेको जानकारी काठमाण्डौबाट प्राप्त हुनासाथ सुरु गरिसकेको स्वास्थ्य निर्देशनालय गण्डकीमा कार्यरत एक अधिकारीले जनाएका छन् । सम्पर्कमा आएकाहरुलाई अहिले होम क्वारेन्टाइनमै बस्न आग्रह गरिएको छ । सम्पर्कमा आएका व्यक्तिहरुलाई घरघरमै पुगेर प्रहरीको टोलीले खोजपडताल गरेको निर्देशनालयले विज्ञप्ती मार्फत नै जनाइसकेको छ । मंगलबार बिहान बेहोस अवस्थामा भेटिनासाथ गण्डकी मेडिकल कलेज, नयाँबजार लगिएकोमा संक्रमितको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले आफै खोजी गरेको छ ।

पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले हालसम्म तीन दर्जन जति पोखरा महानगरको सम्पर्कमा आएको जानकारी दिए । ‘हाललाई सेकेण्ड लेयरको ट्रेसिङ भइरहेको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहनेहरुको परीक्षण गर्दा परिस्थिति बिग्रिसकेको रहेछ भने मात्र थर्ड लेयर ट्रेसिङ हुनेछ ।’ आचार्यले भने – ‘यो भनेको संक्रमितले छोएकाहरुमा देखियो भने छोइएकाहरुले पनि छोएका अर्थात् सम्पर्कमा रहेकाहरुसँग पनि सम्पर्क हुनेहरुको परीक्षण हुनेछ ।’

प्रतिष्ठित क्याम्पसमा प्राध्यापन सेवा गर्दै आएका कानुन व्यवसायी समेत रहेका ति संक्रमित कोरोना संक्रमण फैलिएको ठाउँबाट आएको कुनै ट्राभल हिस्ट्री छैन । पढाइ नभएको कारण कार्यालय जाने, खाजा घरमा खाजा खाना खाने, कोठा फर्कने मात्रै गर्ने उनका निकट मित्रहरु बताउँछन् ।

संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुपनि पोखराका अगुवाहरु नै प्रायः छन् । उनीहरु विभिन्न सामाजिक गतिविधिहरुमा, धेरै जमघटहरुमा पनि सामेल भइरहेका थिए । ति हाइप्रोफाइल व्यक्तिसँग अप्रत्यक्ष रुपमा धेरै जना सम्पर्कमा आएकोले यो केस कास्कीकै पहिलो तरपोखरालाई नै खतराको घण्टी बजाउने गरी आएको छ । यसकारण पनि जनमानसमा आतंक सिर्जना भएको हो ।

संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएकामध्येका एक व्यक्तिको अगुवाईमा शुक्रबार वृक्षारोपण कार्यक्रम पनि गरियो । र, सो कार्यक्रमका प्रमुख अतिथि नै गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल थिए । पोखराको फेवाताल किनारामा वृक्षरोपण कार्यक्रममा आयोजित कार्यक्रममा दुई दर्जन बढी सहभागी रहेको फेसबुकमा शेयर भएको तस्विरमा देख्न सकिन्छ । यद्यपी, सुरक्षाका उपाय अवलम्वन गर्दै सकेसम्म सामाजिक दुरी कायम गरेर विरुवा रोपिएको आयोजकको भनाई छ ।

हाइप्रोफाइल संक्रमितका सम्पर्कमा रहने हाइप्रोफाइल व्यक्तिहरु पनि विभिन्न गतिविधिमा यसरी संलग्न भइरहेका कारण एकपछि दोस्रो हुँदै तेस्रो पक्षसम्म संक्रमण सर्ने सम्भावना रहेकाले अहिले सबै स्वयं सचेत भएर सेल्फ क्वारेन्टाइनमा बसेमा यो चेन ब्रेक गर्न सक्छौं ।

पोखराका दोस्रो संक्रमितको ‘ट्राभल हिस्ट्री’

पोखरा महानगरपालिका वडा नं. २७ घर भएका दोस्रो संक्रमित पुरुष भारतको नयाँ दिल्लीमा बस्दै आएका थिए । उनी भैरहवा नाका हुँदै पोखरा आएको खुलासा भएको छ । उनी ट्याक्सी नै रिजर्भ गरी आएर महानगरको जाल्पारोडस्थित लेकसिटी हस्पिटलमा निर्मित क्वारेन्टाइनमा बसेका थिए । उनीसँग बस्ने अन्य ३ जनाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यद्यपी चार जना एकै ठाउँमा सँगै बसेकाले ३ जनाको एक÷दुई दिनमै फेरि पिसिआर टेस्ट गरिने पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

जेठ १८ गते उनीहरु भैरहवा नाका हुँदै पोखरा भित्रिएका हुन् । अर्का एकजना भारतको वृन्दावनबाट आएका थिए । ति व्यक्ति भैरहवामा भेट भएपछि संक्रमितसँगै ट्याक्सीमा पोखरा आएका हुन् । उनीहरु छोरेपाटन आउने बित्तिकै क्वारेन्टाइनमा ल्याइएको आचार्यले बताए । अर्का २ जना हैदरावादबाट सोही नाका हुँदै जेठ १८ गते नै गाडीबाट पोखरा आएका हुन् ।

आचार्यले भने, ‘जेठ १९ गते स्वाब संकलन गरियो । तीन दिनपछि एकजनाको पोजिटिभ देखियो । अरुको नेगेटिभ आएपनि एक दुई दिनमा फेरि स्वाब लिन्छौं ।’

रुपा गाउँपालिकाका दुई युवक पनि भारतबाटै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका थप दुई जनामा पनि पीसीआर रिपोर्ट पोजिटिभ आयो । रुपा गाउँपालिका वडा नंं ५ घर भएका २३ वर्षका युवक र रुपा वडा नं. ७ घर भएका ३२ वर्षीय युवकमा संक्रमण पुष्टि भयो । उनीहरु भारतबाट आएका थिए । सीमा नाकाबाट सुरक्षित तवरले गाउँपालिका ७ स्थित हंसपुर क्वारेन्टिनमा राखिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले विज्ञप्ती नै जारी गरी जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा भएका २४ जनामध्ये भारतको हैदराबादबाट आएका दुबै पुरुषको संक्रमण देखिएको तर बाँकी २२ जनाको रिपोर्ट नेगेटिभ देखिएको जारी विज्ञप्तीमा उल्लेख छ ।अध्यक्ष ओझाले गाउँपालिकामा कोरोनाका २ संक्रमित भेटिएपनि त्रसित नहुन आग्रह गरेका छन् । क्वारेन्टाइनमा बसेका बाँकी व्यक्तिहरुको अवस्था सामान्य रहेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै क्वारेन्टाइन निर्माण गरेकाले उच्च सावधानी अपनाइएकोले त्रसित नभई सचेत रहन उनको आग्रह छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) का निर्देशक डा. अर्जुन आचार्यले पनि विज्ञप्ती जारी गर्दै रुपाका २ र पोखराका १ संक्रमितको उपचारका लागि आइसोलेसन वार्डमा भर्ना गरिसकिएको जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्यवस्था सामान्य रहेको उनले जनाएका छन् ।

३२३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको बताए । संक्रमित हुनेमा कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, नवलपुरका ३,  नवलपरासीका २,  मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, बाँकेका १२, बर्दियाका २८, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् । त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ जना छ ।गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ४ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९२ हजार ४ सय ७७ परीक्षणहरु गरिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ