काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्न लाग्दा पाेखरामा फेरि झडप, टायर बालेर स्थानियले गरे बाटो अवरुद्ध

काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्न लाग्दा पाेखरामा फेरि झडप, टायर बालेर स्थानियले गरे बाटो अवरुद्ध

Pokhara Corona sab1

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिन टायर बालेर बाटो अवरुद्ध गर्दै स्थानीय । तस्बीर सौजन्य : सन्दीप पौडेल

पोखरा । कोरोनाबाट ज्यान गुमाएका व्‍यक्तिको शव व्‍यवस्थापन गर्दा पोखरामा झडप भएको छ । पोखरा महानगरपालिका ३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो । उनकै शव व्यवस्थापनको गर्न लागेको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो ।

गण्डकीमा कोरोना संक्रमणले मृत्यु भएका दोस्रो व्यक्तिको शव व्यवस्थापनमा पनि स्थानीयले अवरोध गरेका हुन् । स्थानीयले अवरोध गरे पनि नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ ।

शव व्यवस्थापन गर्न नदिन स्थानीयले टायर बालेर बाटो अवरुद्ध गरेका थिए । संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।

स्थानीयलाई प्रहरीले तितरबितर पारेपछि सेनाले शव व्यवस्थापन गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले स्थानीय अवरोध गरेपछि सामान्य झडप भएको बताए ।

झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय बासिन्‍दा घाइते भएका छन् । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । जेठ २५ गते मृत्यु भएका ती व्यक्तिको शव पोखरा ११ र २० को सिमानामा व्यवस्थापन गरिएको थियो ।

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु, गण्डकीमा मृत्यु हुनेको संख्या दुई पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ