पोखराको पहिरोमा पुरिएर ४ जनाको मृत्यु: ९ घाइते, सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा

पोखराको पहिरोमा पुरिएर ४ जनाको मृत्यु: ९ घाइते, सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा

pahiro 1

फाइल फोटो

पोखरा । पहिरोमा परी गएराति पोखराका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

अविरल वर्षाका कारण राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन् ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

सेती थुनिँदा सुकुम्वासी बस्ती डुबानमा

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds