भ्रष्टाचारको रेकर्ड कायम, २०७६ / ७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर

भ्रष्टाचारको रेकर्ड कायम, २०७६ / ७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर

akhtiyar-durupayog-anusandhan-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६र७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ । आयोगको विगत ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । सो अवधिमा अख्तियारले सबैभन्दा बढी घुस लेनदेनका २०६ तथा नक्कली शैक्षिक प्रमाणपत्रका ८५ वटा मुद्दा दायर गरेको छ ।

यसैगरी, सार्वजनिक सम्पत्ति हिनामिनाका ७४, गैरकानुनी लाभहानिका ३६, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ तथा विविधका १० वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारले अकुत सम्पत्ति आर्जनका १८ मुद्दामा १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगका अनुसार आव २०७६र७७ मा आयोगमा २४ हजार ८ सय ९० उजुरी दर्ता भएको थियो । १६ हजार ५ सय ८६ वटा उजुरी फछ्र्योट भएको र १ हजार १ सय १४ को विस्तृत अनुसन्धान गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले दर्ता गरेकामध्ये १ करोड रुपैयाँभन्दा बढी बिगो कायम भएका मुद्दाको संख्या २८ रहेको छ । ३ वैशाख २०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत एक्सरे प्राविधिक राजकुमार ढकालविरुद्ध २ करोड २ हजार ८ सय रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गर्‍यो ।

अख्तियारले उनीसहित सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती निरजरा घिमिरेलाई मुद्दामा प्रतिवादी बनाएको छ । उनको जग्गा लुकाएका राममणि लामिछानेले अनुसन्धानमा सहयोग गरेकाले सहुलियत पाएका छन् । ढकालले आफ्नी श्रीमतीको नाममा घरजग्गा खरिद र बैंक खातामा रकम राखेको भेटिएको थियो ।

त्यस्तै, ३० असारमा अख्तियारले शिक्षा सेवाका उपसचिव मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बर्दियाको बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत रेग्मीविरुद्ध बिगो ४ करोड ५४ लाख ३३ हजार ६९८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो । उपसचिव रेग्मीले अवैध कमाइबाट आर्जित सम्पत्ति पत्नी र छोरीको नाममा समेत दर्ता गरेकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि दुवैलाई समेत प्रतिवादी कायम गरिएको थियो ।

१९ असारमा आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यसँग २ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । यस्तै, १६ असारमा नेपाल विद्युत् प्राधिकरणका फोरमेन टहलबहादुर कार्कीमाथि १ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त कार्की बहाल रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग छ । कार्कीको १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँको स्रोत नखुलेको देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरेको पुृष्टि भएपछि सोहीबराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

१६ असारमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गर्‍यो ।

१५ असारमा आयोगले मालपोत कार्यालय सिमरा बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरविरुद्ध ३ करोड ४ लाख ९४ हजार ३ सय आठ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नासु पदमा सहलेखापालको पदमा सरकारी सेवा गरेका ठाकुरले आठ वर्षकै अवधिमा ३ करोडभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको फेला परेको थियो ।

यस्तै, आयोगले २७ जेठमा नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

काफ्लेले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महँगो मूल्यमा जग्गा खरिद गरी लिखतमा कम मूल्य देखाई श्रीमतीको नाममा लुकाइराखेको आयोगको भनाइ छ । आज प्रकाशित राजधानी दैनिकले समाचार लेखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds