तीन दाजुभाइले ३ सन्तान गुमाए, विकासले निम्तिएको विनाश !

तीन दाजुभाइले ३ सन्तान गुमाए, विकासले निम्तिएको विनाश !

3 bal mritak khoramukhh

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ खोराकोमुख, पाखामा प्रेमराज बिकको घर छ । ६ वर्ष भयो उनी ओछ्यानमै थलिएको । श्रीमती जुनकुमारी पनि बिरामी नै छिन् । तीन भाइ छोरामध्ये जेठो हिरालालको परिवार लामाछौरमा छन् । माइला कृष्णको परिवार हेम्जामा बस्छन् । प्रेमराजका दम्पतीसँग गाउँको मुल घरमा कान्छी बुहारी छन् । कान्छा छोरा खेमराज परिवारदेखि सम्पर्कविहीन छन् ।

माइला छोराका छोरा कुशल (१६) हजुरबुवाआमा बिरामी हुनुहुन्छ भन्दै साउने संक्रान्ति मनाउने गरी गाउँ पुगेका थिए । गाउँ पुगेको ३ दिनमात्रै भएको थियो । जेठो छोराकी छोरी रेजिना (१६) अब खेती लगाउने समय भएकाले खाजा पकाउन सहज हुन्छ भन्दै असार ५ गते नै गाउँ उक्लेकी थिइन् । उनी ११ कक्षामा पढ्थिन् । बिदा भएको समयमा हजुरबुवाआमा भेट्न गाउँ आउजाउ गरिरहन्थिन् । कान्छाका छोरा समिर (१४) घरमै थिए । कान्छी बुहारी संक्रान्ति मान्न अर्को कान्छा छोरा लिएर माछापुच्छ्रे २ स्थित माइती गएकी थिइन् ।

घरमा हजुरबुवाआमासँग साउने संक्रान्ती मनाए । बिहीबार एउटै कोठामा सुते तर उनीहरुले भोलिपल्टको उज्यालो देख्न पाएनन् । निन्द्राकै समयमा उनीहरु पहिरोबाट पुरिए । बिहान साढे ५ बजे झण्डै २०० मिटर माथि रोड छेउबाट पहिरो झरेको उनीहरुले कुनै भेउ नै पाएनन् । थलिएका हजुरबुवाआमा सुतेको ठाउँतिर पहिरो पुगेन, त्यसैले बाँचे । नजिकैको किराना पसल पनि पुरियो । माइत गएकी समिरकी आमाले छोरालाई जिवितै देख्न पाइनन् ।

यो घटना विकासले निम्त्याएको विनाश थियो । भिरालो पाखामा रहेका यी घरहरुमाथिबाटै सडक खनिएको छ । ल्वाङ जाने बाटो खन्ने क्रममा पोहोर डोजरले दुई दुई पटकसम्म माटो खोतलेको र ढिस्को बनाइदिएको स्थानीय बताउँछन् । त्यही बाटोको डिलबाट खसेको ढिस्को घरसम्म पुगेको हो । तीन भाइ छोराकै एक एक जना छोराछोरीलाई पहिरोले खोस्दा प्रेमराजका दम्पती, तीनै छोराका परिवार अहिले शोकमा छन् ।

पहिरोले ८ घर परिवार विस्थापित भएका छन् । तीन नातिनातिनी गुमाएका प्रेमराज बिकको ४ जना सहित ८ परिवारका ४३ जना विस्थापित भएका हुन् । छिमेकीहरु डिलबहादुर विकको ८ जनाको परिवार, रबिलाल बिक, नारायण बिक र जसबहादुर विकको ६, ६ जना, चित्रबहादुर विकको ५ जना, आइबहादुर बिक र डिलबहादुर बिकको ४, ४ जना गरी ४३ जना विस्थापित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ