रहस्यमय बन्दै नक्कली सुन काण्ड, घटनास्थल नै गलत भएको आशंका

रहस्यमय बन्दै नक्कली सुन काण्ड, घटनास्थल नै गलत भएको आशंका

sun-kanda

काठमाण्डौ – गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागे ।’ झोलामा दुई थान चाइनिज पेस्तोलसमेत रहेको पुष्टि भयो ।

तर, सूचना पाएर पिछा गर्दै जाँदा सुन फ्याँकेर भाग्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन । जबकि ठूलो परिमाणमा सुन जस्तै देखिने पदार्थ फ्याँकेर हिँड्ने सवारी साधनलाई प्रहरीले आफ्नो मातहतलाई खबर गरेर तत्कालै पक्राउ गर्न सकेन ।

सुन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएर हतार हतार पत्रकार सम्मेलन डाकेको महानगरीय प्रहरी परिसर काठमाडौंले अन्त्यमा भेटिएकामध्ये साढे १४ किलो सुन नक्कली रहेको र त्यसमा आधा किलो मात्रै सक्कली सुन भएको पुष्टि ग¥यो । त्यस बखत गाडीमा आएकाहरू प्रहरीको चेकिङ देखेर गाडीबाट झोला फ्याँकेर भागेको प्रहरीले भनेको थियो । तर, बिहीबारसम्म आइपुग्दा प्रहरीले भनेको घटनास्थल नै गलत भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘कमलादीमा झोला फ्याँकेर गाडी भाग्यो भन्ने थियो तर अहिले सुन जस्तो पदार्थ कमलादीमा नभएर सुन्धारामा गाडीबाट फ्याँकेर भागेको देखियो,’ ती प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार घटनास्थलको मुचुल्कामा प्रहरीले झोला फ्याँकिएको स्थान सुन्धारा क्षेत्रलाई मानेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने प्रहरी अनुसन्धानमा क्राइम सिनलाई नै खोजेर अनुसन्धान गरिने बताउँछन् ।

‘अनुसन्धानका क्रममा घटना सुरु भएको र अन्त्य भएको स्थानसम्मको क्राइम सिन हेरिन्छ, त्यस क्रममा घटनास्थल फरक भएको हुन सक्छ, थप अनुसन्धान हुँदै छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलले भने ।
प्रहरीले बिहीबार दिउँसो सुन फ्याँकेर भागेको स्कार्पियोलाई ललितपुर नख्खिपोटबाट फेला पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले बा६च ५५१९ नम्बरको सो स्कार्पियो ललितपुर नख्खिपोटको बन्दै गरेको एक घरमा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।

सुन काण्डको अपरेसन गरेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई त्यहाँबाट सरुवा गरिसकिएको छ आज प्रकाशित राजधानी दैनिकमा समाचार छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ