पोखरा महानगरका मेयरलाई प्रश्नः ‘१३ करोड खै ?’ महानगरले भन्योः १ करोड ७३ लाख मात्रै हिसाब फरक परेको !

पोखरा महानगरका मेयरलाई प्रश्नः ‘१३ करोड खै ?’ महानगरले भन्योः १ करोड ७३ लाख मात्रै हिसाब फरक परेको !

13 karod mayor saheb

पोखरा महानगरभित्र अनियमितता देखिएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । आइतबार मात्रै महानगरपालिकामा ‘जागौं पोखरा’ अभियानका युवाले विरोध प्रदर्शन गर्दै मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण पत्र नै बुझाए । उनीहरुले महानगरको परिसरमा पंक्तिबद्ध भएर हात हातमा ‘१३ करोड खै मेयर साब ?’ लेखेको प्लेकार्ड बोकेर मौन प्रदर्शन गरे । साझा पार्टी, कास्कीले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा नै पुगेर पत्र बुझायो । मिडियामा समाचार सार्वजनिक भइसकेको छ । सामाजिक सञ्जालमा १३ करोड खै ? भन्दै धेरैले आपत्ति जनाइरहेका छन् ।

महानगरमा युवाहरु पुगेको भोलिपल्टै महानगरले विज्ञप्ती मार्फत आफ्नो भनाई सार्वजनिक गरेको छ । सोमबार नै युवा अभियन्ताहरुलाई मेयर मानबहादुर जिसीले यस विषयमा लेखाविज्ञद्वारा छानविन भइरहेको जानकारी दिएका थिए । उनले १३ करोड नभई १ करोड ७३ लाख ११ हजार ९ सय ७८ को हिसाब नमिलेको स्वीकार गरेका थिए । उनले यसबारे लेखा महाशाखा र राजश्व शाखालाई भनेर छानबिन गरि २५ दिनभित्र विवरण पेश गर्ने बताएका थिए ।

पोखरा महानगरको ध्यानाकर्षण

यसैबीच, ‘करोड खैं ! ?’ भनी गरिएका प्रदर्शन तथा टीका टिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार एक विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका हुन् ।

कार्यालयको लेखा परीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयले दिएको प्रारम्भिक प्रतिवदेनमा राजश्व शाखाले तयार गरेको आय विवरण तथा बैंक मौज्जादको बीचमा तेह्र करोड एक लाख एकासी हजार सात सय सन्तानब्बे रुपैंयाँ आठ पैसा फरक देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘तर कार्यालयले त्यसको सम्बन्धित विवरणहरु तथा आवश्यक कागजात र प्रमाण पेश गरी संपरीक्षण गर्दा एक करोड तिरहत्तर लाख एघार हजार नौ सय अठहत्तर रुपैंया बाउन्न पैसाको मात्र हिसाब फरक परेको र त्यस विषयमा अध्ययन गरी आयव्यय विवरण तयार गर्नुपर्ने भनी अन्तिम प्रतिवेदन प्राप्त भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

रकमको विषयमा साउन २५ गते नगर प्रमुखको अध्यक्षतामा बैंठक बसी अविलम्ब के, कति कारणले हिसाब फरक परेको हो ? त्यसको खोजी गरी आय व्यय विवरण तयार गर्न प्रमुख लेखा नियन्त्रक जयराम पौडेलको नेतृत्वमा गठित समितिलाई समय सीमासहित जिम्मेवारी दिइएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘लेखा परीक्षण आर्थिक प्रशासनको नियमित प्रक्रिया भएको र नगरपालिकाको वित्तीय विवरणको शुद्धता, पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्नु जनप्रतिनिधिहरुको कर्तव्य समेत भएको विषयमा यस महानगरपालिका स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि कारणले कार्यालयको वित्तीय अनुशासन बिग्रेको पहिचान भएमा त्यसको दोषीलाई दण्डको भागीदार बनाउन हामी प्रतिवद्ध छौं ।’

पोखरा महानगरपालिको २०७५-०७६ को लेखा परीक्षण प्रतिवदेन महानगरको वेभ साइट मार्फत् सार्वजनिक भइसकेको र लेखा परीक्षणको स्थापित पद्धति तथा मान्यता छन् र, त्यसको अनुशरण यस कार्यालयले गरिनै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको आर्थिक प्रशासनको मूल्य मान्यतालाई नबुझी तथा कार्यालयले आन्तरीक सुशासन प्रवद्र्धनको लागि गरिएको प्रयासलाई अविश्वास गरी गरिएका यस्ता अनर्गल प्रचार र तथ्यहीन कुराकोपछि नलाग्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

‘संपरीक्षण हुन बाँकी रकमको विषयमा कार्यालयलाई आन्तरीक अध्ययन तथा न्यायोचित निर्णय गर्न आफ्नो ठाउँबाट सहयोग गर्नुहुन आम महानगरबासीमा अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ