पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालका नर्स र बिरामी सहित थप १९ जनामा कोरोना पुष्टि

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालका नर्स र बिरामी सहित थप १९ जनामा कोरोना पुष्टि

Pokhara gono

पोखरा – पोखराका थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको बिहीबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ६ वटा वडाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा १५, ३२, २५, ८, ५ र १९ वडाका छन् । जसमा, वडा नं ८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा १५ का २३ वर्षीया महिला, पोखरा ३२ का ५० वर्षीय पुरुष, पोखरा २५ का ३६ वर्षीय पुरुष, पोखरा ५ का ४५ वर्षीय पुरुष र १७ वर्षीया युवती, र पोखरा १९ का २२ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, पोखरा ८ मा एकैपटक १३ जना अर्थात् १५, १३, ९ वर्षीय बालक सहित २५, २५, २९ वर्षका पुरुष तथा ८ वर्षीया बालिका सहित २८, २८, २८, ४०, २४ र ३४ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ  ।

जसमा पोखरा १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । पोखरा ३२ का ५० वर्षीय पुरुष पनि सोही अस्पतालमा उपचाररत बिरामी रहेका छन् । भने, पोखरा १९ का २२ वर्षीय संक्रमित व्यक्ति नेपाल प्रहरीमा कार्यरत रहेको बुझिएको छ ।

आज पुष्टि भएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।

यस्तै गण्डकी प्रदेश अन्तर्गत आज नै बाग्लुङको बरेङ, जैमिनी र गलकोट गरी ३ वटा पालिकामा ९ जना, तनहुँको भिमाद नगरपालिका १ मा ३ जना, पर्वतमा १ जना, स्याङ्गजाको पुतलीबजार नगरपालिकामा १२ जना र नवलपुरको कावासोती र देवचुली नगरपालिकामा ५ जना गरी गण्डकीमा कूल ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्वतका आज पुष्टि भएका संक्रमित पनि नेपाल प्रहरीमा कार्यरत रहेको बुझिएको छ भने, बागलुङ जैमिनीका ५१ वर्षीया महिला हाल पोखराको फेवासिटी अस्पतालमा उपचाररत बिरामी रहेको निर्देशनालयले जनाएको छ ।  बाग्लुङका अन्य संक्रमित विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हरु छन् भने, अन्य जिल्लामा पुष्टि भएका संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएकाहरु हुन् ।

संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७२८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ