पोखरामा नागरिक स्तरबाटै २० भेन्टिलेटर बनाउने अभियान, सहयोग जुट्न थाल्यो

पोखरामा नागरिक स्तरबाटै २० भेन्टिलेटर बनाउने अभियान, सहयोग जुट्न थाल्यो

nepal-ventilator-service-palikhe

गण्डकी प्रदेश सरकारले हालसम्म ३१ वटा मात्र भेन्टिलेटरको जोडजाम गर्न सकेको छ । उसको लक्ष्य ३१ वटा भेन्टिलेटर किन्नु थियो, त्यसका लागि बजेट विनियोजन पनि गर्‍यो । तर, १८ वटा खरिद गर्न अझै सकेको छैन । प्रदेशभर सरकारी तथा निजीमा गरेर ६२ वटा भेन्टिलेटर रहेको प्रदेश सरकार बताउँछ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड उपचार केन्द्रमा २ वटामात्र भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । भेन्टिलेटर र आईसीयू नभएको भन्दै अस्पतालले भर्ना नै नलिँदा पछिल्लो समय स्याङ्जाकी धनमाया गुरुङ र कास्की अन्नपूर्णका राजेश कार्कीले ज्यान गुमाइसकेका छन् ।

पोखरामा अब भेन्टिलेटरको अभाव हुन नदिन निजी क्षेत्रले अभियानै थालेको छ । नेपाल भेन्टिलेटर सोसाइटी कास्की गठन गरेर भेन्टिलेटर जुटाउने अभियान थालिएको अध्यक्ष विश्वशंकर पालिखेले पत्रकार सम्मेलन नै गरी जानकारी दिए ।

हालैमात्र गठन भएको भेन्टिलेटर सर्भिस कास्कीको अध्यक्षमा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे छन् भने सदस्यहरुमा डाक्टर सरोज पोखरेल, व्यवसायी विप्लव पौडेल, व्यवसायी सुनिल गोशेली र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली रहेका छन् ।

सहयोग जुट्न थाल्यो

सोसाइटीमा अहिले  भेन्टिलेटर र ३ वटा न्याजलफ्लो क्यानेला (शरीरमा पाइप नघुसाइ अक्सिजन दिन मिल्ने मेसिन) उपलब्ध भइसकेको अध्यक्ष पालिखेले बताए । गण्डकीमा २० वटा भेण्टिलेटरको व्यवस्थापन गर्ने साइटीका सचिव रामकृष्ण ज्ञवालीले बताए ।

समितिले ल्याएका भेन्टिलेटर ब्याकअफका रुपमा रहने र त्यसलाई आवश्यक्ता परेको बेला टोकन मनी लिएर अस्पताललाई दिईने समितिका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए । समितिले भेन्टिलेटर र एच.एफ.एन.सी.को भाडादर पनि कायम गरेको छ । ज्ञवालीका अनुसार सरकारी अस्पताललाई प्रति दिन प्रति भेन्टिलेटर १ हजार तोकिएको छ भने सामुदायिक अस्पताललाई दैनिक २ हजार र नीजि अस्पताललाई दैनिक ३ हजार तोकिएको छ । त्यस्तै एच.एफ.एन.सी.को भाडा प्रति दिन सरकारी अस्पताललाई ३ सय, सामुदायिक अस्पताललाई ५ सय र नीजि अस्पताललाई ७ सय तोकिएको ज्ञवालीले जानकारी दिए ।

स्वयम्सेवी संस्था भएपनि संस्था सञ्चालन तथा भेन्टिलेटर र एच.एफ.एन.सी.को सरसफाईसँगै कर्मचारी ब्यबस्थापनका लागि भाडा लिइएको अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

भेण्टिलेटर सोसाइटीले विभिन्न व्यक्तिको सहयोगबाट अभियान थालेको हो । आइतबार मात्रै युवा उद्यमी मञ्च, पोखराले २ लाख, अध्यक्ष विश्वशंकर पालिखेबाट १ लाख, बाराही ग्रुपको तर्फबाट विप्लव पौडेलले १ लाख, गोसली हाउसको तर्फबाट सुनीलकुमार गोसलीले १ लाख, रोटरी इण्टरनेसनल डिष्ट्रिक्ट ३९२ का निवर्तमान गभर्नर किरणलाल श्रेष्ठले १ लाखभन्दा बढी रकम दिने घोषणा गरेका छन् । यस्तै बतास ब्रदर्शका आनन्दराज बतासले एउटा भेण्टिलेटर व्यवस्था गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ