नेकपा स्थायी कमिटी बैठक: दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटीलाई एक साता समय

नेकपा स्थायी कमिटी बैठक: दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटीलाई एक साता समय

sthai-comiti

नेकपाको आज बसेको स्थायी कमिटी बैठकले पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन एक साता लगाएर अध्यन गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकका सदस्यहरूलाई दुवै अध्यक्षले राखेको प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको हो ।

बैठकमा अध्यक्ष केपी ओलीले सहभागिता नजनाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेर बैठक अघि बढाएका थिए ।अध्यक्ष दाहालले बैठक अगाडि बढाएको र आजको गम्भीर, विशिष्ट अवस्थालाई ध्यान दिएर दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्डले आजको गम्भीर, विशिष्ट अवस्थालाई ध्यान दिएर छलफल अघि बढाउन अपिल गर्नुभयो र आन्तरिक, अनौपचारिक छलफल र गृहकार्य अगाडि बढाउन र स्थायी कमिटीका सदस्यहरूलाई आग्रह गर्नु भयो ।’

अध्यक्ष दाहालले दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न एक साताको समय स्थायी कमिटी सदस्यहरूलाई दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।अब स्थायी कमिटीको अर्काे बैठक आउँदो २८ गते दिउँसो १ बजे बस्ने जानकारी श्रेष्ठले दिए । साथै, केन्द्रीय कमिटीको बैठक भने ५ पुसमा बस्ने निर्णय भएको उनले जानकारी दिए ।

ओलीको पत्र–‘प्रचण्डको प्रस्तावमा औपचारिक छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ’

आजको बैठकमा अनुपस्थित रहेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत् एक पत्र पठाएका थिए ।

पत्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्न नसकिने हुँदा आफू उपस्थित नभएको उल्लेख गरेको थिए ।

‘प्रधानमन्त्रीज्यूले उपप्रधानमन्त्री कमरेड ईश्वर पोखरेलमार्फत् एक पत्र पठाउनुभएको थियो । पत्रमा कमरेड प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने भएकोले बैठकमा उपस्थित हुन नसकेको भन्ने थियो ।’बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘भौतिक उपस्थित नभए पनि आजको बैठकमा राजनीतिक रूपमा ओलीको सहभागिता हो’

नेकपा स्थायी कमिटीका प्रभावशाली स्थायी कमिटी सदस्य भीम रावलले कोही व्यक्ति अनुपस्थित हुँदैमा पार्टी अनिर्णयको बन्दी नबन्ने दाबी गरेका छन् । विधि, पद्धति र विगतको परम्पराका आधारमा स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय लिने उनको भनाइ थियो ।

स्थायी कमिटी बैठकपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही परिसरमा पत्रकारसँग कुरा गर्दै नेता रावलले आइतवारको बैठकका ओली भौतिक रूपमा उपस्थित नभए पनि राजनीतिक रूपमा सहभागिता जनाएको बताएका हुन् ।

‘आजको बैठकमा कमरेड ओलीले लिखित मन्तव्य पठाउनुभएको थियो । मन्तव्यको अर्थ र भौतिक रूपमा उपस्थित नभए पनि राजनीतिक रूपमा सहभागिता हो,’ रावलले भने, ‘पत्रमा स्थायी कमिटीका सदस्यहरू भनेर सम्बोधन गरिएको छ । यस्तो सम्बोधन त बैठकमा मात्र हुन्छ ।’

उनले २८ गते बस्ने स्थायी कमिटी बैठक र पुस ५ गते बस्ने केन्द्रीय कमिटी बैठकले कुनै निर्णय लिने बताए । ‘पार्टी अनिर्णयको बन्दी त हुँदैन, स्थायी कमिटी अनिर्णित हुँदैन । विधि, मूल्य मान्यता अनुसार निर्णयमा पुगिन्छ,’ रावलले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds