अदालतले विवेक प्रयोग गर्ने नै छ: देउवा

अदालतले विवेक प्रयोग गर्ने नै छ: देउवा

Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

पर्वत, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयलाई दबाब दिन नहुने बताएका छन् । ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हुँदैन, उनले भने, अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन ।’

न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा काँग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट पारे ।  सभापति देउवाले प्रतिनिधिसभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा आफूलाई विश्वास नलागेको उल्लेख गरे ।

पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवन उद्घाटन गर्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले जनअपेक्षा अनुसार ओली सरकारले काम नगरेको आरोप लगाए । उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय आएको बताए ।

सभापति देउवाले नेकपा २ भागमा विभाजित जस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गरे । उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका काँग्रेस कार्यकर्तालाई दुःख दिने गरेको भन्दै आलोचना गरे । उनले पार्टीलाई बलियो बनाउँदै देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस नेता गोपालमान श्रेष्ठले शहिद तिवारीको योगदानबाट सिक्नुपर्ने उल्लेख गरे । केन्द्रीय सदस्य अर्जुन जोशीले आफूलाई पदको लोभ नभएको भन्दै पार्टीलाई शशक्त बनाउनु आफ्नो प्राथमिकता भएको बताए ।

शहिद हरिदत्त तिवारीको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको प्रतिष्ठानका मुख्य संरक्षक, काँग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए ।

०६० साल माघ १ गते शशस्त्र माओवादी समूहले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ