‘फेवातालको मापदण्ड मिचेर बनाएका भौतिक संरचना ढिलो चाँडो महानगरले भत्काउने’

‘फेवातालको मापदण्ड मिचेर बनाएका भौतिक संरचना ढिलो चाँडो महानगरले भत्काउने’

Fewataal

पोखराको फेवाताल संरक्षणमा तीन तहका सरकारको समन्वय आवश्यक भएको सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। सोमबार पोखराको रेडियो अन्नपूर्णले “द राउण्ड टेबल” छलफल कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले हाल फेवातालको बाँध मर्मतको क्रममा महानगरसँगकोे समन्वय बिना गण्डकी प्रदेश सरकारले काम गर्दा तालबाट माटो निकाल्ने लगायतका कार्य गर्न नसकिएको बताए । पोखराको लेकसाइड देखि घाँटीछिनासम्म एक बर्ष भित्रमा बाटो खनिएकोमा माटो व्यबस्थापन गरिने दाबी गर्दै मेयर जिसीले आगामी बर्ष भन्ज्याङसम्म बाटोको व्यबस्थापन गरी फेवातालमा आउने माटो रोक्नु पर्ने बताए । अझै पनि फेवातालको संरक्षणमा प्रदेश र संघिय सरकारले उचित कदम चाल्न नसकेको उनको गुनासो थियो । फेवातालको मापदण्ड मिचेर बनाएका भौतिक संरचना ढिलोचाँडो महानगरले भत्काउने मेयर जिसीले चेतावनी दिदै फेवातालको पानीमुनि कसैको लालपूर्जा भएको खण्डमा उचित मुआब्जा समेत दिने जनाए ।

फेवाताल सिंमाकन नक्शाकन समितीका संयोजक पुण्य पौडेलले फेवातालको सिमाङकनको काम सकिएसँगै नक्साङकनको काम सजिलैसँग गर्ने दाबी गरे । २०१० साल देखि २०७२ सालसम्म भए गरेका फेवाताल सम्बन्धि अध्ययन एवं प्रतिवेदनहरु हेर्दा एकरुपता नभएको उनले जनाए । उनले भने “बर्षायाममा पानीले ढाकेको जमिन, निरन्तर रुपमा बग्ने भकुण्डे खोला, सर्वे समेत गरेका छौं । ” सर्वोच्च अदालतले खटाएको विश्व प्रकाश लामिछानेको प्रतिवेदनमा चार किल्लामा आफुहरु समेत सहमत भएको पौडेलले जनाए ।

पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख डा. देवेन्द्र लामिछानेले करिब २५ सय वर्ष अगाडि फेवाताल निर्माण भएको दाबी गर्दै त्यतिबेला फेवातालको लम्बाई करिब १० किलोमिटर भएको जनाए । फिस्टेल लजबाट शुरु भएर पश्चिममा ठूलाखेत हुँदै हर्पण खोलाको पञ्चासे पहाडको फेदीसम्म फेवाताल फैलिएको उनको दाबी छ । त्यसपछि क्रमशः विभिन्न चरणमा आएका बाढी पहिरोले फेवाताललाई पुर्दै जाँदा फेवातालको आकार अहिलेको अवस्थामा पुगेको उनले जनाए । बाँध खोल्नुभन्दा अगाडि तालले ओगटेको क्षेत्रफल तालको वास्तविक क्षेत्रफल भएको डा. लामिछानेको भनाई छ । दिगो रुपमा फेवातालको संरक्षण गर्नको लागि ताल भन्दा माथिल्लो भेगबाट आउने र खहरे खोलाले ल्याउने ढुंगा, माटोलाई नियन्त्रण गर्नुपर्ने तर्क उनको थियो ।

नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले समितिको सहकार्यमा आफुहरुले फेवातालको सिमाङकन तथा नक्साङकनको ४५ प्रतिशत काम सम्पन्न गरेको दाबी गरे । उनले भने “ऐतिहासिक तथ्य, सर्वे र अग्रजको भनाइलाई आधार बनाएर हामीले फिल्ड सर्वे गर्दै छौं ।” फेवातालको बारेमा यस अघि भएका अध्ययनको आधारलाई पनि आफुहरुले अध्ययन तथा अवलोकन गरेको उनले जनाए ।

पोखरा उपत्यका नगर विकास समितीका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले ९ हजार ९ सय ५५ रोपनी जग्गा पानीले ढाकेको जानकारी गराए । बाँध फुटेको अबस्थामा २०३४/०३५ साल तिर सर्पट नापीले फिल्डमा नगई कागजी रुपमा केही व्यत्ति बिशेषले दर्ता गरेको भेटिएको पूर्व अध्यक्ष लामिछानेले बताए । १० हजार ६३ रोपनी जग्गा मध्ये २१ सय १ रोपनी जग्गा विवादित भएको पाइएको उनले जनाए । १६ सय ९२ रोपनी जग्गा पानीमुनि भएकोले राज्यको ध्यान पुग्नुपर्छ भनेर आफुहरुले सुझाव दिइँदै आएको उनको भनाई छ ।

पर्यटन व्यवसायी हरि पौडेलले फेवातालको कारण पोखराको लेकसाइडमा मात्र करिब ५० हजार जनाले प्रत्यक्ष रुपमा रोजगार प्राप्त गरेकोले फेवातालको दिगो रुपमा संरक्षणको लागि अब योजना बनाएर काम गर्नुपर्ने बताए । फेवातालको उचित ढंगले संरक्षण गर्न सके यसबाट धेरैलाई फाइदा पुग्ने उनको विश्वास छ ।

अधिवक्ता सुरेन्द्र थापा मगरले कुनै व्यक्तिले सरकारी जग्गा अधिग्रहण गरेमा कुनै पनि बेलामा बदर हुने कानुनी व्यबस्था रहेको बताए । उक्त कार्यक्रमको संचालन रेडियो अन्नपूर्णकर्मी वासु मिश्रले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds