प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै ११ फागुन बेलुकीपख सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदियो । सर्वोच्चको फैसलाको सर्वत्र स्वागत गरियो । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरका विद्यार्थीहरुले पनि खुशीयाली मनाए । क्याम्पस गेटमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरे ।
अनेरास्ववियूका प्रचण्ड-माधव पक्षधर विद्यार्थीहरु हर्षोल्लासका साथ नाराबाजी गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर विद्यार्थीहरु रोड पारी समूहगत रुपमा आए र परस्पर विरोधी नारा घन्काउन थाले । उनीहरुले ढुंगा प्रहार गरेर दीप प्रज्ज्वलन गरिरहेका समूहलाई धपाउने प्रयास गरे । त्यसपछि वारीपारी ढुंगाहानाहान भयो । वडा प्रहरी कार्यालय बगरबाटै प्रहरी टोली पुग्यो । शान्तिपूर्ण तबरले दीप प्रज्ज्वलन गरिरहेका टोली क्याम्पस गेटबाट भित्र पसाइयो । त्यसपछि झनै अगाडि बढेर ओली पक्षीय विद्यार्थीहरुले ढुंगा प्रहार गर्न थाले । ओली पक्षका विद्यार्थीसँग मिलेर प्रहरीसमेत जाइलागेको माधव-प्रचण्ड पक्षधर विद्यार्थीको आरोप छ ।

प्रहरीहरु नै गेटबाट भित्र पसेर छात्र होस्टलसम्मै पुगे र दमनमा उत्रिएका थिए । सशस्त्र प्रहरी समेत विद्यार्थी कुट्न क्याम्पसको होस्टलसम्मै पुगेको थियो । दामोदर दाहालसहितका विद्यार्थीहरुलाई चोट लागेको छ ।
क्याम्पसको नियमानुसार विद्यार्थी संगठनको सहमतिविना क्याम्पस हाताभित्र प्रहरी प्रवेश गर्न पाउँदैन । तर, दीप प्रज्ज्वलन गरिरहेका विद्यार्थीमाथि ओलीपक्षीय कार्यकर्तासँग मिलेर प्रहरी नै दमनमा उत्रेको उनीहरुको भनाई छ ।

ढुंगा हान्ने ओली पक्षीय विद्यार्थीलाई रोक्नुपर्नेमा प्रहरीलाई क्याम्पस भित्र नै बोलाएर कुट्न लगाएको भन्दै विद्यार्थीहरु क्याम्पस प्रमुख बस्ने भवन मुनी गएर होहल्ला गर्न थालेका थिए ।
विद्यार्थी नेता अंकित पौडेलले भने, ‘हामीले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रहरी प्रवेश गरेको छ । यो कार्य गलत हो भन्यौँ । उहाँले अझ दुई गाडी प्रहरी बोलाएर तिमीहरुलाई जेल हाल्छौँ भन्नुभयो ।’ विद्यार्थीका अनुसार क्याम्पसले प्रहरी नबोलाएको भए कुनै पनि घटना घट्ने थिएन ।
क्याम्पस प्रशासनले भने विद्यार्थीहरुको अराजक शैलीका कारण त्यस्तो अवस्था सिर्जना भएको बताएको छ ।
क्याम्पस प्रमुख नै असभ्य गालीगलौजमा उत्रिए
सुरक्षा माग गर्न क्याम्पस प्रमुख ई. राम प्रसाद पौडेललाई गुहार्न पुगेका विद्यार्थीहरुलाई पौडेलले अपशब्द प्रयोग गरेको भिडियो पनि सार्वजनिक भएको छ । देश बनाउने ईञ्जिनियरहरु उत्पादन गर्ने थलोका मूख्य व्यक्ति नै गालीगलौजमा उत्रिएका छन् । उनले विद्यार्थीहरुलाई ‘तेरो बाउ’ भन्दै अपशब्द प्रयोग गरेको प्रष्ट सुनिन्छ ।
भिडियोमा क्याम्पस प्रमुख पौडेलले विद्यार्थीहरुलाई ‘तँलाई राजनीति गर्न मैले सिकाएको हो भन्या ?’ भन्दै प्रश्न गरेका छन् । विद्यार्थीहरुले पनि ‘क्याम्पसमा प्रहरी कसले छिराको ?’ भन्दै प्रतिप्रश्न गरेको सुनिन्छ । क्याम्पस प्रमुख पौडेलले ‘तेरो बाउले छिरा’ भन्दै जवाफ फर्काएका छन् ।
भिडियोमा क्याम्पस प्रमुखले विद्यार्थीलाई कलेजमा राजनीति गरेको आरोप लगाइरहेका छन् भने विद्यार्थीहरुले तपाईं पनि त राजनीतिक नियुक्ति लिएर प्रमुख हुनुभएको हो नि भनेका छन् । क्याम्पस प्रमुख ओली पक्षीय विद्यार्थीसँग नरम र प्रचण्ड माधव पक्षका विद्यार्थीसँग गरम बन्दै विद्यार्थीहरुलाई जेल हाल्ने धम्की पनि दिइरहेका छन् । प्राज्ञिक क्षेत्रमा प्रहरी भित्राएर होस्टेलभित्र नै गुन्डागर्दी शैली अपनाएर छापा मारिएको विद्यार्थीको आरोप छ ।
तालाबन्दी गरे, कुर्सी जलाए, डिजिटल बोर्ड फुटाए
क्याम्पसले आफ्नो गल्तीको जिम्मेवारी नलिएको र आफ्ना विद्यार्थीको सुरक्षा गर्नुपर्नेमा उल्टै दमन गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । साथै, घटनापछि आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी तथा डिजिटल डिस्प्ले तोडफोड समेत गरेका छन् ।

यस्तै, अनेरास्ववियूका नेताहरु अंकित पौडेल र कमल बस्यालले विज्ञप्ति जारी गरेर घटनाप्रति निन्दा गर्दै क्याम्पस प्रमुखमाथि कडा प्रश्न तेर्साएका छन् ।


सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो