गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उनले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गरे ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उनले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताए । कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भने, “सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमालेबाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै कठिन छ ।”
माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गरे । माओवादीसँग नयाँ परिस्थितिमा छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको मुख्यमन्त्रीले स्पष्ट पारे । उनले भने, “शुरुमा माओवादी केन्द्रको समर्थनमा केपी ओली नेतृत्वको वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा दुईअनुसार गठन भएको हो । केन्द्रमा माओवादीले समर्थन फिर्ता लिए पनि अहिले एमालेले गुमाउने केही पनि छैन । बढी घाटा उसैलाई हुन्छ, सात प्रदेशमध्ये दुई प्रदेशको मुख्यमन्त्री र अन्य प्रदेशमा सरकारबाट फिर्ता हुनुपर्दछ, त्यो उसका लागि दुर्भाग्य हो ।”
सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एमाले र माओवादी कुन दलका मान्ने भन्नेमा स्पष्ट नभए पनि मुख्यमन्त्री गुरुङले सूर्य चिह्नबाट चुनाव जितेको र केपी ओलीको हस्ताक्षरबाट टिकट प्राप्त गरेकाले उनीहरू एमालेकै हुने विश्वास व्यक्त गरे । महानगर प्रमुख मानबहादुर जिसीले देशको ठूलो महानगरलाई समृद्ध बनाउने योजनानुसार कार्यक्रम अघि बढाइएको जानकारी दिए ।
स्थापना दिवसका अवसरमा बिहान महानगरपालिका कार्यालय न्यूरोडबाट प्रभातफेरी आयोजना गरी पोखरा सभागृहमा पुुगेर स्थापना दिवस समारोहमा परिणत भएको थियो । समारोहमा महानगरमा लामो समयदेखि कार्यरत कर्मचारी, स्थापना दिवसका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगितामा विजयी भएकालाई पुरस्कार प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ