सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे।
‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन हुने हल्ला चलेपछि घर फर्किएका हौं। गत वर्षजस्तो सास्ती नहोस् भनेर यसपालि लकडाउन नहँुदै फर्किएको’, विकले भने। उनी गत वर्ष चैतमा लकडाउनका बेला एक महिनाभन्दा बढी भारतको पलियामा रोकिएका थिए।
‘त्यतिबेला भारतको पलियामा एक महिना रोकिनुप-यो। परिवारसँग कुराकानी पनि हुन सकेन। खानपिनको व्यवस्था पनि राम्रो भएन’, उनले भने, ‘मरे पनि घरमै मरुँला भनेर आएका हामीलाई अर्काको देशमा जेल हालेजस्तै भयो। त्यसैले यसपालि हल्ला चल्नेबित्तिकै घर फर्केका हौं।’
उनले घरमा खेतीपाती भित्र्याउने समय भएको, चैते दसैं पनि आएकाले परिवारले घर आउन भनेपछि फर्किएको बताए। ‘लकडाउन भएन भने पछि एक-दुई महिना खेतीपातीको काम गरेर फेरि गइन्छ’, उनले भने, ‘हैन भने हेरौं।’
नुवाकोटको तारकेश्वर–२ का रमेश परियार पनि शुक्रबार गौरीफन्टा नाकाबाटै घर फर्किए। परियार महाराष्ट्रको पुनामा होटलमा कुक काम गर्थे। त्यहाँ लकडाउनको हल्ला चलेकाले घर फर्केको उनले बताए। ‘त्यहाँ कोरोना फेरि बढिरहेको छ। त्यहाँको प्रदेश सरकारले लकडाउन गर्ने भनेर सूचना पनि जारी गरेको छ’, उनले भने, ‘साथीहरूले पोहोर सालको लकडाउनका बेला पाएको दुःख सुनेर यसपालि अगाडि नै घर आएको हुँ।’
उनी पनि गत वर्षको चैतमा लकडाउन सुरु भएका बेला घर फर्किएका थिए। मंसिरमा मात्रै भारत पसेका उनले भने, ‘लकडाउनको हल्लाले चार महिना मात्र काम गरेर फर्किनुप-यो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’