अवैध रूपमा करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छोडिएको छ ।
लोपोन्मुख असला माछा अत्यधिक पाइने दैलेखको छामघाट र ताराघाट खोलामा अवैध रूपमा करेन्ट लगाएर माछा मार्न थालेपछि माछा पाउन छाडेको स्थानीयले बताएका छन् । सोलार ब्याट्री र बजारमा पाइने कन्भर्टरको प्रयोग गरी अवैध रूपमा खोलाभित्र करेन्ट लगाइ माछा मार्न थालेपछि खोलामा पाइने लोपोन्मुख असला माछासहित अन्य माछा पाइन छाडेका हुन् । पहिलेपहिले खोलामा बाहिरदेखि नै सहजै माछा खोलामा खेलिरहेको देखिने भए पनि अहिले एउटा पनि देख्न रहर भएको स्थानीय कलम कार्कीले बताए ।
करेन्ट लगाएर माछा सखाप पार्दा स्थानीय प्रशासन मुकदर्शक भएको देख्दा आफू निकै दुःखी भएको कार्कीले गुनासो गरे । प्रत्येक दिन हुलका हुल युवाले करेन्ट लगाएर माछा मार्ने गरेको खोली बजारका बमबहादुर थापाले जानकारी दिए । कुनै बेला खोली बजार छामघाट र ताराघाट खोलाको स्वादिलो माछा पाइने क्षेत्रका रुपमा लोकप्रीय थियो । अहिले आफूलेसम्म माछा खान नपाएको थापाको गुनासो छ । करेन्टको प्रयोगले माछा मात्र होइन खोलामा पाइने अन्य जलचर पनि मर्ने हुँदा प्राकृतिक प्रणालीमा नै सङ्कट आउने खतरा बढ्ने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले बताए ।
बारम्बार स्थानीय प्रशासन र सरकारलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको धीरबहादुर थापाले जानकारी दिए । “मैले व्यापार गर्न लाको ३० वर्ष भयो, हाम्रो व्यापार नै माछा बेच्ने थियो, यहाँको माछा खान यो बाटो हिँड्ने सबै रुचाउथे अहिले पनि ती पुराना ग्राहक माछाका लागि आउँछन्, माछा छैनभन्दा अचम्मित हुन्छन् र यति ठूलो खोला छ माछा किन छैनभन्दा आफूसँग उत्तर नहुँदा निकै दुःखी हुनुपर्छ ।” थापाको मात्र होइन अहिले खोलीबजारमा व्यापार गर्ने सबैको त्यही पीडा छ । पहिले पहिले दिनमा १० देखि १५ हजारसम्मको व्यापार गर्ने होटेलमा अहिले दिनमा पाँच छ सयको पनि नहुने डम्बर महताराले गुनासो गरे । खोलीबजारको व्यापार खस्किनुका साथै खोलामा जाल खेल्ने जलारीको पेशा झन् सङ्कटमा परेको छ ।
वर्षौंदेखि खोलामा जाल हानेर माछा मार्ने पेशामा लागेको जलारी निकै चिन्तित छन् । “खोलामा दिनभरि जाल हान्दा नि एक छाक माछा हुँदैन करेन्ट लगाउँदा माछा सखाप भो अनि हाम्रो जालमा कसरी माछा आउँछ”, भन्छन् कर्णबहादुर कार्की । उनले आफूले जाल खेल्ने गरेको २० वर्ष भएको बताउँदै यही पेशाले १० जनाको परिवार पालेको स्मरण गरे । विगतमा आफ्नो फुर्लुङ सधैँ भरिने र त्यसमा सात÷आठ किलो माछा हुने गरेको उनले बताए । अहिले यो यो पेशा नै छोड्ने तयारीमा रहेको उनको भनाइ छ । खोलामा अवैध उत्खनन र करेन्टको प्रयोग नै माछा नपाउनुको मूल कारण भएको कृषि कार्यालयका प्रमुख पाण्डेको भनाइ छ ।
करेन्टको प्रयोगले माछा नै सखाप हुने र कोही बाँचीहाले नपुंसक हुने हुन्छ । माछाले भुरा उत्पादन गर्ने प्रक्रिया नै बन्द हुँदा माछा लोप भएको उनको दाबी छ । भैरवी गाउँपालिकाका प्रमुख प्रेम बुढाले अवैध करेन्ट लगाउनेबारे आफूलाई जानकारी नभएको तर यदी त्यस्तो भएमा अब नियन्त्रण गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आफू आएको एक हप्ता मात्र भएकाले अवैध खोला उत्खनन र करेन्ट लगाउने कार्य गरेको पाए कानूनबमोजिम कारवाही गर्ने बताए । दैलेखको भैरवी र महाबु गाउँपालिकाको बीच भएर बग्ने छामघाट खोला लोपोन्मुख असला माछाको मुख्य खोलाका रुपमा चिनिन्छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो