धुर्मुसले उपप्रधानमन्त्रीलाई भेटेरै भने– ‘बजेट भए एक वर्षमै रंगशाला तयार गर्छौं’

धुर्मुसले उपप्रधानमन्त्रीलाई भेटेरै भने– ‘बजेट भए एक वर्षमै रंगशाला तयार गर्छौं’

dhurmus ishwar-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिएका छन् ।

क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवम् धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनको प्रशंसा गरे । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, उठेका सबै प्रश्नको जवाफ कामले दिनुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मस निकै भावुक बनेका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैले बोलाएर चासो लिएकोमा उपप्रधानमन्त्रीलाई धन्यवाद दिए ।

‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं,’ कट्टेलले भने ।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको उनले जानकारी दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने धुमुसले बताए ।

‘हाम्रो कुनै स्वार्थ छैन, जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरूको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन,’ कट्टेलले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ