गण्डकी प्रमुखबाट पदमुक्त अमिक शेरचन- ‘राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद अस्वीकार गरेको व्यक्ति हुँ’

गण्डकी प्रमुखबाट पदमुक्त अमिक शेरचन- ‘राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद अस्वीकार गरेको व्यक्ति हुँ’

amik sherchan n

पोखरा। हिजो गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले आज पोखराका पत्रकारमाझ यस सम्बन्धमा प्रतिक्रिया दिए । उनले प्रेस विज्ञप्ति नै तयार गरी पत्रकारहरुलाई बाँडे र आफूले पनि वाचन गरे ।

उनले राष्ट्रपति, प्रधानमन्त्री र एमालेको अध्यक्ष पद समेत विगतमा अस्वीकार गरेको बताउँदै आफूलाई पद ठूलो कुरा नभएको बताए । प्रदेश प्रमुख पनि अनिच्छाको पद भएको भन्दै उनले पदमुक्त हुन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपतिलाई धन्यवाद समेत दिए ।

प्रदेश प्रमुखको निवासमै बिहान पत्रकार सम्मेलन गरेका उनले उनले भनेका छन् ‘सन्त नेता क.मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ, न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ ।’

उनले अगाडि भने, ‘म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्व राष्ट्रपति डा। रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै, ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।’

पढ्नुहोस् अमिक शेरचनको प्रेस वक्तव्यको पूर्णपाठ–

प्रेस वक्तव्य

आदरणीय पत्रकार साथीहरू :

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ‌। यहाँहरुप्रति आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद ।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल लामा र क.मोहन विक्रम सिंह जस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संघर्षमा आफ्नो जीवन समर्पित गरें । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।

सन्त नेता क.मनमोहन अधिकारीको निधन पछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ । पद र सत्ताको लागि असंवैधानिक पद्धती र अपाच्य दृष्यहरु थोपर्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवी सर्वहारावर्गको इमान्दार साथी हुँ र वर्गसंघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र स्रामाज्यवादविरुद्धको संघर्षहरु पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षड्यन्त्र र गद्दारी गरेको छैन । न त अरबौं कमिसन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म, बरु वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टचारविरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयातना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ ।

संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा, हात, करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटकपटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ । स्मरण रहोस् !कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरूको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी–पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तत्कालीन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिए । कुनैपनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे–जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।

अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकतामा अघि बढौं मेरो हार्दिक अपील छ ।

अमिक शेरचन

२०७८/०१/२१

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ