विद्युतको मारमा लमजुङबासी

विद्युतको मारमा लमजुङबासी

kindry bijuli

लमजुङ । यहाँ उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् ।

जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडी सके पनि यहाँका बासिन्दा भने पटकपटक बिजुली आउने र जाने समस्याले मारमा परेका हुन् ।

यतिबेला दैनिक ५०/६० पटक बिजुली आउने जाने गर्नाले जिल्लामा दैनिक कामकाज प्रभावित हुँदा उपभोक्ता मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी करीब ३१ हजार घरधुरीमा विद्युत् सेवा दिँदै आएको छ । संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार जिल्लामा प्रत्येक महिना १२ देखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ ।

लमजुङ पानी उद्योगका सञ्चालक राजेश थापाले बिजुलीको अनियमित आपूर्तिले गर्दा व्यवसायीलाई ठूलो नोक्सान भइरहेको बताए। बेँसीशहर नगरपालिका-३ बाहुनबेँसीका विश्वविनोद घिमिरेले बत्ती आउने जाने समस्याले बालबालिकालाई अनलाइन माध्यमबाट पढाउन समेत समस्या भएको गुनासो सुनाए।

संस्थाका अध्यक्ष घिमिरेले शुरुमा चार हजार ५०० जनाको लागि बनाएको संरचनाले हालसम्म पनि त्यसमै भर पर्नुपर्दा, बिजुलीका पोलहरु काठका भएको र फेर्नुपर्ने, २० एमबीको ट्रान्सफर्मरर नभएको र यसबारेमा प्राधिकरणले चासो नदिँदा बत्ती जाने आउने समस्या भएको बताए। यता प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले विद्युत् उपभोक्ता संस्थाले विभिन्न पुराना संरचनाहरु मर्मत नगर्दा नै समस्या रहेको बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ