सबिना मृत्यु प्रकरणः फेवा सिटीद्वारा गहिरो दुःख व्यक्त गर्दै प्राविधिक त्रुटी भएकोमा क्षमायाचना (भिडियो)

सबिना मृत्यु प्रकरणः फेवा सिटीद्वारा गहिरो दुःख व्यक्त गर्दै प्राविधिक त्रुटी भएकोमा क्षमायाचना (भिडियो)

Sabina-case fewa

पोखरा नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि आन्दोलित मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति जुटेको छ । विहीबार बेलुकी सविनाको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि दिनभरजसो आफन्त नाराबाजीमा उत्रेका थिए ।

दुई पक्षबीच शुक्रबार बेलुकी सहमति जुटेको हो । अस्पतालले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ । उपचारलाई सफल बनाउन हरसम्भव प्रयास जारी गरेको पनि बताएको छ । अस्पतालका तर्फबाट प्रबन्धक त्रिभुवन पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल परिसरमा सो विज्ञप्ति वाचन नै गरिएको थियो ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

अस्पतालले क्षतिपूर्ति दिने

अस्पतालले मृतकका परिवारलाइ १५ लाख क्षतिपूर्ति दिने सहमति गरेको छ । यस्तै, मृतकको नाबालिका छोरी रहेकाले उनको उपचार निःशुल्क गर्न अस्पताल सहमत भएको छ । अस्पतालमा रोजगारी गर्न चाहेको खण्डमा मृतकका पतिलाई उनको योग्यताको आधारमा जागिर दिन पनि अस्पताल सहमत भएको पारिवारिक श्रोतले जनाएको छ । १५ लाखमध्ये २ लाख किरिया खर्च वापत र १३ लाख छोरीको अध्ययनका लागि भनिएको छ ।

क्षतिपूर्तिको सवालमा परिवार भने खुलेर बोल्न चाहेन । सहमतिपत्र सार्वजनिक नगर्नू भनेका छन् भन्दै सहमतिपत्र सार्वजनिक नगर्ने परिवारले जनायो । मृतकका आफन्त नन्दलाल पोखरेलले अस्पताल प्रशासनले आफूहरुसँग माथि उल्लेखित क्षतिपूर्ति दिन सहमत भई लिखित सम्झौता गरिसकेको पुष्टि गरे ।

मृतकका पति शालिकराम ढकाल रोजगारीको सिलसिलामा भारतमा छन् । उनी शुक्रबार राति साढे नौ बजेमात्रै पोखरा आइपुगेका छन् । आफन्तका अनुसार सबिनाले सामान्य रोग हो, अप्रेशन पछि नै श्रीमानलाई भनुँला भनेर राम्रोसँग रोगबारे श्रीमानलाई पनि भनेकी थिइनन् ।

कोखा दुखेर एम्बुलेन्समार्फत पोखरा आएर फेवा सिटीमा विहीबार मध्यान्ह भर्ना भएकी सबिनाको पोखरा आएपछि मात्र पिशावनलीमा पत्थरी रहेको पत्ता लागेको थियो । आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकालको मृत्यु अस्वभाविक रहेको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन् ।

चिकित्सक भन्छन्ः शल्यक्रिया गर्न पाएकै हैनौं, बेहोस हुने सुई पनि लगाएका थिएनौं, एक्कासी बेहोस् हुनुभयो

अस्पतालका चिकित्सक डा. टुमाया घलेले भने यदि आधा घण्टा अघि अपरेशन थियटरमा नलगेको भए वार्डको बेडमै पनि सबिनाको सोहि अवस्था हुने प्रतिक्रिया दिएकी छन् । मिडियासँगको कुराकानीमा डा. घलेले भनिन्: ‘म २ दशक बढी यस क्षेत्रमा छु । योसहित २ वटा केस यस्तो भोगेँ । उहाँलाई अप्रेशन त गर्नै पाएनौं । एनेसथेसिया इन्जेक्शन (बेहोस बनाउने) हाल्नु अघि नै सलाईन चढाउँदै थियौँ । उहाँ चल्न थाल्नुभयो । एक्कासी बेहोस् भयो । त्यसपछि रहनुभएन ।’

डा. घलेले यदि आफूहरुले भनेको कुरा पत्यार नलागे आफै काठमाण्डौ लगेर पोष्टमार्टम गर्नुस्, जे रिपोर्ट आउँछ यदि हाम्रो गलत उपचार हो भने लाइसेन्स नै खारेज गर्ने कारबाही भएपनि भोग्न तयार छौं ।’

दिनभरको पटक पटकको वार्ता असफल भएपछि अन्त्यमा परिवारजन क्षतिपूर्ति विषयतिर प्रवेश गरेको र यस विषयमा अरु आफूलाई थाहा नभएको उनको भनाई छ ।

यद्यपी, मृतकको परिवारले नाम किटेको डाक्टर भने सार्वजनिक भएका छैनन् ।

चिकित्सकले आफूहरुबाट कमजोरी नभएको जिकिर गरिरहँदा अस्पताल भने क्षतिपूर्ति दिन र प्राविधिक त्रुटी स्वीकार गर्न तयार भएको छ ।

फेवासिटीमा तनावः स्याङ्जाकी युवतीको पत्थरी शल्यक्रियाको क्रममा निधन, चिकित्सकको लापरबाहीको आरोप (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ