पोखरा । गण्डकी प्रदेश सरकारले विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । प्रदेश मुल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमै आइतबार विषेश समारोह गरेको छ । यसअघि मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले वृहत अन्तक्रिया गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए । उनले भने, ‘यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।’
यति बेला मुलुक, नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको उनले बताए । उनले संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकारहरू आ–आफ्नो संवैधानिक कार्यभारहरू पूरा गर्न क्रियाशील रहेको उनको भनाइ थियो ।
संविधान बमोजिम संघ,प्रदेश र स्थानीय तहहरुको स्थापना भए पनि अझै पनि हामीले संविधानले भने बमोजिम शक्तको विकेन्द्रीकरण गरी दुरदराजका आमनागरिकको घर घरमा संघीयताको अनुभूति हुने गरी धेरै कार्यहरु गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘जुन कुराको अपेक्षा आम प्रदेश बासीले प्रदेश सरकारबाट गरिरहेका छन्, ती जनताका अपेक्षा पूरा गर्न सत्ता पक्ष र प्रतिपक्षको इमान्दार प्रयास र सहकार्य अहिलेको आवश्यकता हो ।’
उनले हिजो नयाँ संविधान निर्माणका क्रममा भएका आन्दोलनमा एकै मोर्चामा रहेका दलहरु नै अहिले कुनै सत्ता पक्ष र कुनै प्रतिपक्षमा रहेको भन्दै सत्तापक्षले सत्तामा रहेको घमण्ड र प्रतिपक्षले सत्ता बाहिर छु भन्ने सोचलाई त्यागेर हिजोका परिवर्तनका लागि लडेका दिनहरु सम्झेर जनताका समस्याहरुसँग हातेमालो गर्ने हो भने छिटै गन्तव्यमा पुग्न सकिने भनाइ राखे । उनले भने, ‘आज हामीले संविधान दिवस मनाइरहँदा जुन उद्देश्यका लागि नयाँ संविधान जारी भएको हो ती उद्देश्य पूरा गर्नका लागि सानातिना राजनीतिक स्वार्थहरुलाई बिर्सेर सक्दो छिटो सामाजिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु आजको आवश्यकता हो ।’
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष उत्तिकै जिम्मेवारी हुनुपर्ने भनाइ राखे । सशस्त्र द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै त्यसमा सघाउने माओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए । अहिले मुलुकमा लागु भएको संघीयतालाई सुदृढ गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैको सहयोग आवश्यक रहेको भन्दै उनले लोकतान्त्रिक प्रणालीमा सरकारले सुझाव र सल्लाह सँधै ग्रहण गर्ने भनाइ राखे । सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा जिम्मेवार भएर अगाडि बढ्न कर्मचारी वर्गलाई उनले अनुरोध गरे ।
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सामन्ती, एकात्मक शासन व्यवस्था अन्त्य भए पनि त्यसका अवशेषहरु बाँकी नै रहेका बताए । संघले आवश्यक कानुन नबनाइदिएका कारण अझै पनि प्रदेशमा कतिपय कानुन बनाउन नपाइएको भनाइ उनको थियो ।
प्रमुख सचिव डा. दामोदर रेग्मीले स्वागत गरेको कार्यक्रम सञ्चालन प्रदेश सचिव इन्दु घिमिरेले गरेकी थिइन् । कार्यक्रममा मन्त्रीहरु, मुख्यमन्त्रीका सल्लाहकार, सरकारका अन्य पदाधिकारी, प्रदेश सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख लगायत सहभागी थिए ।
सम्बन्धित खबर
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ होः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस १८ गतेदेखि माघ १ गतेसम्म
असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
फेवाताल मिचेको भन्दै वाटर फ्रन्टको पर्खाल नेकपा बहुमतका कार्यकर्ताले भत्काए
पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइयो
पञ्चासे भञ्ज्याङमा तयार भयो हाईअल्टिच्युड खेलमैदान
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन