गण्डकीमा टिकट नदिएर ओलीले पीडित बनाए, एमाले भन्दा बलियो हुँदैछौं: नेपाल

गण्डकीमा टिकट नदिएर ओलीले पीडित बनाए, एमाले भन्दा बलियो हुँदैछौं: नेपाल

Nekapa s
  • एमाले भन्दा एकीकृत समाजवादी पार्टी बलियो छ
  • मुख्यमन्त्रीद्वय शाक्य र आचार्य एक हप्ताभित्र हट्छन्
  • माओवादीसँग एकता नगरी प्रमुख शक्ति बन्नेछौं
  • एक हप्ताभित्रमा सरकारमा जाँदैछौं

पोखरा — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरामा आएर गण्डकी क्षेत्रमा किन आफूहरु कमजोर बन्यो भन्नेबारे मुख खोलेका छन् । उनले गण्डकी प्रदेशमा आफू पक्षधर नेता कार्यकर्तालाई टिकटबाट बञ्चित गराएर केपी ओलीले माथि उठ्नै नदिइएको भन्दै आक्रोश व्यक्त गरे ।

अलग पार्टी बनाएपछि पहिलो पटक पोखरा आएका नेपालले भने, ‘यहाँ पनि पीडित छन् । देशभरिका पीडित–पीडित एकताबद्ध भएका छौं । बलियो हुँदैछौँ’ संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज आइतवार पोखरामा आयोजना गरेको गणतन्त्र एवम् संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीमा ९ प्रतिशत रहेको र ५ प्रतिशत छ भनेर झूटा प्रचार कसैले गर्छ भने त्यसलाई नपत्याउन पनि आग्रह गरे ।

मुख्यमन्त्रीद्वय शाक्य र आचार्य एक हप्ताभित्र हट्छन्

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एक साताभित्र एक नम्बर र वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउने बताए । उनले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको पनि जिकिर गरे ।

‘सुदूरपश्चिममा एक नम्बर पार्टी भएका छौं । दुई नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी अघि उभिएका छौं । कर्णाली प्रदेशमा टक्कर दिएर धूलो चटाइदिएका छौं,’ उनले भने, ‘१ र ३ (वाग्मती) प्रदेशमा एक हप्ताभित्र केपी ओलीको सरकारलाई हटाएर हामी सरकारमा जाने बारेमा सोचिरहेका छौं ।’

उनले तत्काल एमालेमा फर्कने वा अन्य कुनै पार्टीसँग एकता गर्ने नभई आफ्नै शक्तिको भरमा अगाडि बढ्ने बताए । उनले माओवादी केन्द्रसँग एकता नहुने पनि बताए । उनले भने, ‘त्यहाँ फर्केर जाने कुरा नसोच्नुहोस् । हामी यो पार्टीलाई अगाडि बढाउने छौं । बाहिर प्रचार भएजस्तो माओवादीसँग एकता हुँदैन ।

अध्यक्ष नेपालले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत स्पष्ट पारे । उनले भने, विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहो¥याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।

उनले भने, ‘असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।’ देशको पछिल्लो अवस्थाले नेकपा एमाले भन्नेबित्तिकै सबैले नाक खुम्च्याउने गरेको नेता नेपालको टिप्पणी थियो ।

काण्डैकाण्ड छानबिन होस्

अध्यक्ष नेपालले ओली सरकारको पालामा भ्रष्टाचारका थुप्रै काण्ड भएको भन्दै छानबिन गर्न माग गरे। ‘योभन्दा पहिलेको सरकार… भन्न पनि अप्ठ्यारो, एमालेको सरकार…! यति कम्पनीलाई कति काखी च्यापेको होला ?’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘त्यो (नेपाल) एयरलाइन्स पनि यतिलाई बेच्न खोज्याथ्यो ।’

वाइडबडी खरिद भ्रष्टाचार भएको थाहा पाएको, तर छानबिनका लागि फाइल पठाउँदा सुनुवाइ नभएको उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे छानबिन बनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् ।

‘कोभिड महामारीको बेला पनि ओली सरकारले भ्याक्सिन ल्याउन कमिसनको चक्करमा किन ? अर्बौंको भ्रष्टाचारको कुरा तपाईं सुन्दै हुनुहुन्छ । वाइडबडीको कुरा भो । किन छानबिन हुँदैन ? यसमा कसैको संलग्नता छैन भने छानबिन किन अगाडि नबढेको ? होइन भने कुरा उठिसकेपछि छानबिन गर्नुपर्दैन ? सरकारलाई भन्न चाहन्छु, प्रत्येकको छानबिन गर्ने काम शुरु गर्नुहोस् । देशलाई लुट्न पाइँदैन । कसले लुट्यो, कसले लुटेन, हामी अहिले भन्दैनौं । किनभने प्रमाणित नभएको कुरामा अरु बोल्न मिल्दैन ।’ नेपालले भने ।

एक हप्ताभित्रमा सरकारमा जाँदैछौं

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने पनि बताएका छन् । उनले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोशेढुङ्गाका रूपमा रहने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए । संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ, अध्यक्ष नेपालले स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, प्रतिनिधि सभा सांसद कृष्णकुमार श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, उपसचिव पूर्ण लामालगायतले पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा समाजवादी मुस्लिम संगठन नेपाल, कास्की तथा पिपुल्स भोलेन्टियर्स, कास्की घोषणा समेत गरिएको थियो । विवेकशील साझाका कास्की संयोजक एकराज न्यौपानेले पनि साझा पार्टी छाडेर नेकपा एस प्रवेश गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ