‘६ अर्ब खान एमसीसीको ५६ अर्बमा र्‍याल काढेको ? एनसेलको ६५ अर्ब उठाउनतिर लाग’ – विप्लव

‘६ अर्ब खान एमसीसीको ५६ अर्बमा र्‍याल काढेको ? एनसेलको ६५ अर्ब उठाउनतिर लाग’ – विप्लव

Biplab-3

पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीको डलर ल्याएर देश साट्नुभन्दा बरु आफ्नै देशको फसेको एनसेलको कर उठाउनतिर लाग्न सरकार र दलहरुलाई सुझाव दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले भने – एमसिसीको ५६ अर्बमा र्याल काढ्नु भन्दा एनसेलको ६५ अर्ब उठाउनतिर लागे हुन्छ । एमसिसी ल्याउनुको मकसद नेताहरुलाई ५६ अर्बको १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको ६ अर्ब हुन्छ । त्यो खानलाई हो । – विप्लवले थपे – ‘एघार अर्ब त नेपालमा बेरुजु मात्र रहेछ । भ्रष्टाचार गरेर मिलाउँदा मिलाउँदापनि मिलाउन नसकेपछि निस्केको बेरुजु हो त्यो । कति मिलाएर खाए होलान् ?

उनले एमसिसी राष्ट्रघाती भएको बताए । ‘एमसिसी देश जनताको बिरुद्धमा छ, त्यो ल्याउनु हुँदैन, ल्याउन दिदैनौं ।’ विप्लवले एमसिसी जबरजस्ती ल्याइए त्यो ल्याउनेलाई नछाड्ने चेतावनी दिए । उनले भने, ‘एमसिसी जबरजस्ती लादियो भने त्यो एमसिसी रहनेवाला छैन । त्यो एमसिसी त जल्छ जल्छ, एमसिसी ल्याउनेलाईपनि छाड्दैनौं, त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्छ ।’ विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्यवाद नेपाल आइपुग्ने दाबी गरे ।

ओली सरकारसँगको तीनबुँदे लागु नभए सबै घेरा तोड्छौँ

आफ्ना नेता–कार्यकर्ताको रिहाइ नभएको भन्दै उनले सरकारमाथि आक्रोश पोखे । उनले गत २० फागनुमा केपी ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नगरिएकोमा आक्रोश पोखेका हुन् ।

आफ्ना कार्यकर्ता रिहा हुनुपर्ने सहमति भए पनि त्यो कार्यान्वयन नभएकोमा उनी रूष्ट बनेका हुन् । विप्लवले फेरि हिंसात्मक गतिविधि गर्ने संकेत गरेका छन् । उनले सर्त लागु नगरिएमा सबै घेरा तोडिने चेतावनी दिए । उनले भने, ‘सहमति गर्ने लागू नगर्ने के हो यो ? के तपाईंहरु हामीलाई अर्को कुनै दबाबमा राख्न चाहनुहुन्छ ? अप्ठेरोमा पार्नपर्छ भन्ने ठान्नुहुन्छ ? हामीले तीनबुँदे गरेका छौं । त्यसमा इमान्दार छौं । शान्तिपूर्ण मान्न तयार छौं,’ उनले भने, ‘तर, अर्को कुनै शर्त थोपरिन्छ भने, जेलका साथीहरुलाई छुटाउनका लागि कुनै घुमाउरो तरिकाले घेरा हाल्न खोजिन्छ भने घेरा तोडिदिन्छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै शीर्ष नेतालाई भेटे पनि यो विषयमा चासो नदिइएको उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरुले विश्वास गरेर सहमति गरेको ७ महिना बितिसकेको भन्दै विप्लवले भने, ‘हामीले त केपी ओलीसँग एउटा विश्वास गरेर सहमति गरेका हौं । शेरबहादुर देउवासँग भेटेर पनि भन्यौं । उहाँसँग राम्रो कुरा पनि भयो । उहाँले लागू हुन्छ, पालना हुन्छ पनि भन्नुभो । तर, उहाँहरुसँग भेटेको पनि २–३ महिना बित्न थालिसक्यो ।’

आफूहरूमाथि बिनाकारण प्रतिबन्ध लगाइएको विप्लवको भनाइ थियो । महासचिव विप्लवले आफूहरुले सरकारसँग कुनै दयामाया नमागेको तर, सहमति मात्रै लागू गर्न आग्रह गरेको बताए । ‘कुनै ठूलो अपराध गरेका थिएनौँ प्रतिबन्ध लगाउनुपर्ने । त्यस्तो कुनै अपराध गरेका थियौँ ? नेपाली जनताको चाहना र नेपालको हितविपरीत कुनै काम गरेका थियौँ ?’ उनको प्रश्न थियो ।

जनमत संग्रह आवश्यक छ

विप्लवले नेपालमा जनमत संग्रह आवश्यक रहेको दोहो¥याए । जनमत संग्रह भए आफूहरूले चाहेको व्यवस्थाको पक्षमा बढी मत आउने उनको दाबी थियो । ‘हाम्रै केही साथीले जनमत संग्रह गरेर हुँदैन भन्नुभयो । नेपालमा जनमत संग्रह ल्यायौँ । हामीले जित्छौँ । सतप्रतिशत जित्छौँ,’ उनले भने, ‘नेपाली जनताले यो दलालहरूलाई सहन्छन् ? परिवर्तन चाहन्छन् । त्यसैले यो ल्याउनुपर्छ ।’

विप्लवले अहिलेको ब्यबस्थाले समाजवाद नआउने ठोकुवा गरे । ‘समाजवाद दलदलमा उभिएर आउने चिज होइन, बरु दलदलमा उभिनेहरु आफै भासिने हो’– उनले भने ।

साथमा हतियार छैन

उनले आफूहरूसँग हातहतियार नरहेको दाबी गरे । जनताको घरमा बसेर लड्नेसँग बन्दुक नहुने उनले बताए । शहीद र बेपत्ताको परिवारले आफूहरूलाई परिवर्तनको आन्दोलनमा लागिरहन हौसला मिलेको विप्लवले बताए । उनी राजनीतिक दलका नेतामाथि पनि कडा प्रस्तुत भए ।

‘वर्षौं राज गरेका राजाको अलिकति पैसा हुनु ठीकै हो । सत्तामा दुई वर्ष भएको छैन, खर्बपति हुने मान्छे जनताका मान्छे हुन् ? विदेशी बैंकमा पैसा लुकाएर एक पैसा छैन भन्ने हाम्रा नेता हुन सक्छन् ?,’ उनले भने ।

बुधबारदेखि शुरु भएको अखिल क्रान्तिकारीको सम्मेलन असोज ८ गते शुक्रबारसम्म चल्नेछ । चिप्लेढुंगा मानवअधिकारचोकमा उद्घाटन शत्र गरेको अखिल क्रान्तिकारीले बन्द शत्र भने पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा हुनेछ । अखिल क्रान्तिकारीको सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि भएको जनाइएको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

तस्वीरः राधिका कँडेल/रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ