त्रिशुलीमा कार दुर्घटनाः पोखरा चेम्बरका बरिष्ठ उपाध्यक्ष भुजेलसहित ३ बेपत्ता, १ घाइते

त्रिशुलीमा कार दुर्घटनाः पोखरा चेम्बरका बरिष्ठ उपाध्यक्ष भुजेलसहित ३ बेपत्ता, १ घाइते

trishuli bhujel

काठमाडौंबाट पोखरा आउँदै गरेको कार चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

ग.२ च ४९१८ नम्बरको कार गएराति पौने १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।

कार दुर्घटनामा परी पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पूरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको थियाे ।

प्रेम भुजेल पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन्। उक्त दुर्घटनामा परेको कार पनि भुजेलकै हो । यही असोज २ गते सम्पन्न पोखरा चेम्बर अफ कमर्शको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट भुजेल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

भुजेल कपडा व्यवसायी संघ, कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य, नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ कास्कीको सदस्य हुन् । हंसपुरका उनी प्रकृति सप्लायर्सका सञ्चालक हुन् ।

तस्वीरः ईच्छाकामना एफएम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ