पोखरामा कुकुर पाल्न दर्ता गर्नुपर्ने, सार्वजनिक स्थानमा दिसा गराए १५ हजारसम्म जरिवाना

पोखरामा कुकुर पाल्न दर्ता गर्नुपर्ने, सार्वजनिक स्थानमा दिसा गराए १५ हजारसम्म जरिवाना

Pokhara dog

पोखरा । सम्भवतः नेपालमै पहिलो पटक पोखरा महानगरपालिकामा कुकुर दर्ता तथा पालन अनुमति पत्र वितरण सुरु भएको छ । महानगरपालिका वडा नम्वर ८ बाट दर्ता र पालन अनुमति पत्र वितरणको शुभारम्भ गरिएको हो । यस्तै, पोखरा महानगरपालिकाले कुकुर पाल्ने तर सडकमा छाडा छोड्ने व्यक्तिलाई ५ देखि १५ हजारसम्म जरिवाना तिराउने भएको छ ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बिहिबार एक कार्यक्रमका बीच दर्ता प्रमाणपत्र वितरण गरी शुभारम्भ गरे ।

वडामा कुकुर दर्ता भएका कुकुरलाई सार्वजनिक ठाँउमा छाड्न पाइने छैन भने दिसापिसाव गराए जरिवाना लगाइने वडा अध्यक्ष रुद्रनाथ बरालले बताए । ‘वडाले दर्ता प्रमाणपत्रसंगै कुकुरलाई ट्याग लगाउँछ । ट्याग लगाएको कुकुर कसको हो भन्ने जानकारी हुने र त्यस आधारमा मालिकलाई कारबाही हुन्छ ।’ बरालले भने ।

महानगरको वडा र पशु सेवा शाखाको आयोजनामा पहिलो पटक नेपालमै यस्तो कार्यक्रमको सुरुवात भएको दावी वडा अध्यक्ष बरालले गरे । ‘यो कार्यक्रमलाई कडाईका साथ कार्यान्वयन गछौँ । कुकुरको दिसापिसावले मानव स्वास्थ्यमा प्रभाव पार्छ ।’

कार्यक्रमको शुभारम्भ गदै उपप्रमुख मञ्जुदेवी गुरुङले सुन्दा र हेर्दा यो कार्यक्रम सामान्य लागेपनि महत्वपूर्ण रहेको बताइन् । यो मानवको स्वास्थ्य र सुरक्षासंग सम्वन्धित रहेको बताउदै उनले भनिन् ,‘सभ्य नागरिक भएको सहरको परिचय यसले दिनेछ । सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’

उनले कुकुरलाई खुल्ला स्थानमा दिसापिसाव गराउन नपाइने बताउँदै जनावरको पनि अधिकार हुने र यसलाई परिवारकै सदस्यका रुपमा पाल्ने भएकाले व्यवस्थित रुपमा पाल्न आग्रह गरिन् । उनले कुकुरलाई नियमित रुपमा रेविज विद्धको खोप लगाउनुपर्नेमा जोड दिइन् । ‘रेविज कुकुरबाट सर्ने भएकाले यसलाई नियमित रेविज विरुद्धको खोप लगाउने र व्यवस्थित रुपमा पालन गर्नुपर्छ ।’ उनले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत महेश बरालले यो कार्यक्रम राम्रो रहेको बताउँदै यसले सडक फोहोर अन्त्य गर्ने र वातावरण सफा हुने बताए । दर्ता गरेर कुकुरलाई व्यवस्थित रुप्मा पाल्दा विवरण अद्यावधिक गर्दा पशु सेवा शाखाले ताकेता गर्ने र रेविज विरुद्धको खोप लगाउन सहज हुने बताए ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख केदारराज पाण्डेले रेविजका कारण नेपालमा हरेक वर्ष २ सय जनाको मृत्यु हुने गरेको बताउँदै यसको लक्ष्यण देखिपछि बचाउन नसकिने बताए ।

रेविज विरुद्धको खोप निःशुल्क रहेको बताउँदै फ्याउरो र स्यालबाट कुकुरमा रेविज सर्ने र छाडा कुकुरको कारण घरपालुवा कुकुरमा सर्ने भएकाले रेविज विरुद्धको खोप वर्षमा एक पटक लगाउन आग्रह गरे ।

कार्यक्रममा कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप लगाउने अभियानको समेत शुभारम्भ गरिएको छ । एकसाता पोखरा महानगरभित्र रहेका छाडा कुकुरलाई रेविज विरुद्धको खोप लगाइने महानगगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds