पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् ।
निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । प्रदेशको समृद्धिसँग जोडिएको यो विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भिœयाउनुपर्ने उनको भनाइ थियो ।
पोखरामा विदेशीबाट सिधै उडान सञ्चालनका लागि गर्नुपर्ने तयारी अहिलेबाटै थाल्नुपर्ने भन्दै उनले सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने बताए । अहिले विमानस्थल नजिकै ल्यान्डफिल साइट रहेको त्यसले उडानमा समस्या पार्ने भएकाले तत्काल विकल्प खोज्न उनले सम्बन्धित पक्षसँग आग्रह गरे ।
विमानस्थल निर्माण भइरहँदा पानीको निकास मुख्य समस्या देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । पोखराको धेरैजसो भागको पानीको निकास यही विमानस्थल आसपास भएको त्यसको व्यवस्थापन नहुँदा विमानस्थल नै खतरामा पर्न थालेको छ । मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय नागरिकले उठाएका सबाल तत्काल सम्बोधन गर्नुपर्ने छ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’
अनुगमनमा मन्त्रीहरु कुमार खड्का, रामजीप्रसाद बराल जीवन, मणिभद्र शर्मा कँडेल, बिन्दुकुमार थापा, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सहभागी थिए ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले एअरपोर्टको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी गराए । हाल चिनिया १ सय ८५ र नेपाली २ सय ३० जना कामदार काममा खटिइरहेको र १ सय १० वटा हेभी मेसिनरी प्रयोग भइरहेको उनले बताए । २२ अर्बको परियोजनामा हालसम्म ६९ प्रतिशत आर्थिक प्रगति भएको पनि उनले सुनाए ।
उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान सुरु भए पनि ठोसरुपमा अगाडि बढ्न नसकेको उनले बताए । उनले भने, ‘सरकारी वनतर्फको कटान सुरु गर्न पुन एआइए गर्नुपर्ने छ ।’ विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको जानकारी उनले गराए । विमानस्थल नजिकै रहेको खुल्ला ल्यान्डफिल साइटका कारण चराचुरुंगीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न आयोजना प्रमुख मुनकर्मीले आग्रह गरे ।
उक्त अवसरमा पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले २०२२ को जनबरी १ मा आन्तरिक उडान सुरु गर्ने गरी काम भइरहेको बताए । उनले त्यसको १ वर्षभित्रमा अन्तराष्ट्रिय उडान गर्न सकिने भनाइ राखे । उनले विमानस्थलबाट हुने उडान र त्यसका लागि आवश्यक पूर्वाधारका बारेमा समेत जानकारी गराए ।
उक्त अवसरमा कल्सल्ट्यान्स इन्जिनियर भुपेन्द्र शेरचनले पुराना खोल्साखोल्सी अतिक्रमण हुँदै गएको र पानीको व्यवस्थापन नहुँदा त्यसको चाप विमानस्थलमा परेको भनाइ राखे । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अरु सबै कुरा छाडेर पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विमानस्थलको छेउखण्ड भत्किइरहेको छ, अर्को वर्ष गरौंला भनेर कुर्ने अवस्था छैन, बजेट व्यवस्थापन गरेर तत्काल काम थाल्नुपर्छ ।’
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो