गलकोटमा जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण

गलकोटमा जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण

IMG-20211129-WA0004

बागलुङ । सामान्य अर्थमा भन्नुपर्दा योग भन्नाले विभिन्न आसन, प्राणायाम, ध्यान र साधनाद्वारा मन, आत्मा र शरीरलाई जोड्नु हो। यसलाई शरीर, मन र आत्माको एकता पनि भनिन्छ । जसरी समाजको विकास हुँदै आयो, त्यस सँगसँगै समाजमा बढ्दै गइरहेको तनाव, चिन्ता र प्रतिष्पर्धामा योगको कारणले धेरै लाभ पुगेको पाइन्छ। पछिल्लो समयमा धेरै मानिसहरुले आफ्नो चौतर्फी विकासको लागि योग अभ्यासलाई दैनिकी बनाइरहेका छन् ।

गलकोट नगरपालिका ७ मल्ममा दुई दिन सम्म जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणबाट वडाबासी नागरिक लाभान्वित भएका छन् । ‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ भन्ने आदर्श वाक्य सहित आईतबार र सोमबार सञ्चालित प्रशिक्षणमा एक सय बढी स्थानिय सहभागी भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टिका बहादुर थापाले जानकारी दिए ।

सामाजिक संस्था घुम्टे युवा परिवार सँगको सहकार्यमा धौलागिरी आयुर्वेद औषधालय बागलुङले आयोजना गरेको प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोज कुमार रायले योग र ध्यानका बारेमा प्रशिक्षित गरेका थिए । उनले योगका विभिन्न आसनको अभ्यास र विधि सिकाएका थिए।

सो अवसरमा चिकित्सक रायले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताए । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुसी र आनन्दमयी बन्ने उनको भनाइ थियो । प्रशिक्षणमा सहभागी ज्येष्ठ नागरिक कुल बहादुर थापाले योग सिक्न पाउँदा खुसी लागेको प्रतिकृया दिए ।

ज्येष्ठ नागरिक र ६ महिना सम्मका सुत्केरी आमाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको थियो । यद्यपी अन्य उमेर समुहका व्यक्तिको पनि प्रशिक्षण कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा नसर्ने रोगहरु, उक्त रक्तचाप, मधुमेह, बाथ रोगको चेकजाँच गरि रोग अनुसार रोग प्रतिरोधात्मक क्षमता अभिवृद्वि गर्ने आयुर्वेदिक औषधी ७२ पुरुष र ३९ महिलालाई निशुल्क रुपमा वितरण गरिएको थियो ।

पछिल्लो समय खानपान, तनाव, चिन्ता इत्यादी कारणले मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले जीवनशैली परिवर्तन तथा योग प्रशिक्षण राखिएको घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा ’सन्देश’ले बताए। उनका अनुसार प्रशिक्षण शिविरका लागि संस्थाका पूर्व उपाध्यक्ष एवं नेपाल भलिबल संघ जापानका सदस्य युवा समाजसेवी तुलवीर थापाले आर्थिक सहयोग गरेका हुन् ।

योग सँगै आयुर्वेद चिकित्साको महत्वबारे सर्वसाधारणलाई बुझाउन प्रशिक्षणलाई अभियानकै रुपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको औषधलाय व्यवस्थापन समितिका सदस्य ललिता थापाले बताइन् । उक्त कार्यक्रमको लागि वडा कार्यालयले स्थानीय रुपमा समन्वय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ