‘हनी हन्टिङ’ हेर्न मन छ ? अर्को हप्ता लान्द्रुक जानुस्

‘हनी हन्टिङ’ हेर्न मन छ ? अर्को हप्ता लान्द्रुक जानुस्

honey hunting

पोखरा । घरमै पालिने मौरीको घारबाट मह निकालेको प्रायले पक्कै देख्नुभएकै छ होला । अनि भीरमौरीको मह निकालेको ? यो धेरैले आँखैअघि नदेख्नुभएको हुनसक्छ ।

अक्करे भीरमा रहेका गोलाबाट मह निकालेको देख्नुभएको छैन भने अर्को हप्ता तपाइँले त्यो हेर्ने अवसर पाउनुहुनेछ । त्यसका लागि तपाइँ एक दिनकै लागि भए पनि कास्कीको लान्द्रुक जानुपर्ने हुन्छ । आउँदो मंसिर २१ देखि २३ (मंगलबारदेखि बिहीबार) कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुकमा ‘हनी हन्टिङ फेस्टिबल २०७८’ हुँदैछ ।

भीरमौरीको मह जेठ र मंसिर गरेर वर्षमा दुईपटक निकालिन्छ । दोस्रो सिजन मंसिरमा महोत्सव नै गरेर लान्द्रुकको मोदी खोला किनारको कोटेसाङ भीरका गोलाबाट मह निकालिँदै छ । कोभिड १९ ले पर्यटक कम हुन थालेपछि त्यहाँका स्थानीयले पर्यटक बोलाउन यो जुक्ति लगाएका हुन् ।

लान्द्रुकवासीका लागि यो सामान्य भए पनि धेरैलाई नौलो विषय हुनसक्छ । ‘हाम्रो लागि मह काढेको हेर्नु नौलो होइन । तर, धेरैलाई नौलो विषय हो । कोभिड १९ ले गाउँमा पर्यटकको चहलपहल घटेको छ । पर्यटन पनि राम्रो हुन्छ भनेर यो फेस्टिबल गर्न लागेका हौँ,’ महोत्सवका प्रचारप्रसार संयोजक कमल गुरुङले भने ।

गाउँकै अनुभवी ९ जना भिरौटेको टोलीले मह काढ्ने छ । लान्द्रुक पोखराबाट साढे दुई घन्टाको दुरीमा पर्छ । पोखराको हरिचोकबाट बिहान ९ बजेदेखि तीन बजेसम्म लान्द्रुक जाने जिप पाइन्छ । आफ्नै साधन हुनेहरु जिप कुरेर बस्नुपर्दैन । लान्द्रुकका होटलमा खानबस्न साढे १२ सय रुपैयाँ र होमस्टेमा आठ सय रुपैयाँको प्याकेज व्यवस्था छ । लान्द्रुक पुग्न र एक रात खानबस्न दुई हजार रुपैयाँ भए पुग्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ