‘समयमै बजेट कार्यान्वयन गर्नुस्, बहानाबाजी नगर्नुस्’- अर्थमन्त्री बराल

‘समयमै बजेट कार्यान्वयन गर्नुस्, बहानाबाजी नगर्नुस्’- अर्थमन्त्री बराल

Ramji baral gorkha

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले मंगलबार गोरखामा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा मन्त्री बरालले कुनै बहानाबाजी नगरी समयमै बजेट कार्यान्वयन हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

दोश्रो चौमासिक भित्र पनि कार्यक्रम कार्यान्वयनमा जान सक्ने अवस्था नभएमा तत्काल सरेण्डर (आत्मसमपर्ण) गर्न मन्त्री बरालले सचेत तुल्याए । अधिकांश मन्त्रालयबाट बजेट माग भएपछि मन्त्री बरालले प्राप्त बजेटलाई सीमित श्रोत साधनको प्रयोग गरी कार्यान्वयन गर्न आग्रह गरे । गोरखाका प्रादेशिक कार्यालयहरुलाई पुरस्कृत हुने गरी काम गर्न पनि सुझाए ।

मन्त्री बरालले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ५ अर्ब कम बजेट विनियोजन भएकोले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वन गर्नूपर्ने अवस्था रहेको बताए ।

गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिकसम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिए । उनले जिल्लामा राजश्व संकलन गर्न धेरै क्षेत्रहरु छुटेको तथा उठ्नुपर्ने राजश्व कम उठेकोले अनुगमन आवश्यक भएको बताए ।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आ–आफ्नो मन्त्रालय अन्र्तगत कार्यालयहरुले आवश्यक बजेट माग गर्न सुझाव दिए । गोर्खा जिल्लाबाट करिब ६० करोड बढी बजेट माग भएको उनले बताए । बजेट कार्यान्वयनको अबस्था बुझी कठिनाई भएको अबस्थामा सहजीकरण गर्ने र आगामी बजेट निर्माणमा सुधार गर्नुपर्ने कुराको पृष्ठपोषणको लागि पनि जिल्लागत रुपमा छलफल गरिएको सचिव अर्यालले बताए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख महेन्द्र प्रसाद भण्डारीले यही मंसिर २७ गतेसम्म प्रदेश अन्र्तगत बजेट कार्यान्वयन पूंजिगत तर्फ १७.२८ प्रतिशत बजेट खर्च भएको बताए । गोरखामा चालु आर्थिक वर्षमा १ अर्ब ८३ लाख बजेट विनियोजन भएको उनले बताए ।

जिल्ला समन्वय समिति गोर्खाका जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले स्थानिय सरकारलाई जवाहदेही बनाउनु पर्ने बताए । अनुगमन तथा मुल्याङ्कन शाखा कर्मचारीविहीन भएको उनको गुनासो थियो ।

पुर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले यस बर्ष दायित्व सृजना हुँदा ५ करोड २८ लाख आवश्यक भएको बताए । उनले प्राप्त बजेट अभावले गर्दा यस बर्ष करिब १३ योजना नै प्रभावित हुने दाबी गरे ।

स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख विद्या तामाङले गोरखाको विकट क्षेत्र चुमनुब्रि र धार्चेमा ४५ जनाको दरवान्दी रहेकोमा हाल ७ जना मात्र रहेको गुनासो गरे । आउदो पुष महिनाभित्र १८ बर्ष माथिका व्यक्तिहरुमा ९४ प्रतिशत कोरोना विरुद्धको खोपको पहँुच पुग्ने तामाङले दाबी गरे ।

सामाजिक विकास कार्यालयका प्रमुख दीपेन्द्र परिवारले दरबन्दी अनुसार कर्मचारी पदपूर्ति गरी काम गर्ने वातावरण सृजना गर्न माग गरे । एकलाखे योजनालाई कार्यान्वयमा लैजान कठिन हुने गरेको उनको भनाई थियो ।

जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय गोरखाका प्रमुख प्रकाश लम्सालले आगामी बर्ष योजना अनुसारको कार्यक्रम ल्याउँदा न्यूनतम २० प्रतिशत बजेट सुनिश्चित गर्न माग गरे । यस बर्ष थप ४ करोड बजेट आवश्यक भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र गोर्खाका प्रमुख परशुराम अधिकारीले जनशक्ति अभाव, व्यवस्थित बजारीकरण, श्रम शक्ति अभाव, भौगोलिक कठिनाईका कारण योजना कार्यान्वयनमा कठिनाई भएको बताए । १३ जनाको दरबन्दीमा हाल ५ जना मात्र रहेको उनले बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्त्रालयका उपसचिव बसन्तराज तिवारी, शाखा अधिकृत केशव सुवेदी लगायतले बोलेका थिए । गोर्खाको चुमनुब्रि गाउँपालिकामा अझै पनि सुख्खा पहिरो गएको प्रजिअ अधिकारीले गुनासो गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ