गुञ्जिए पोखरामा एलबीका कविता

गुञ्जिए पोखरामा एलबीका कविता

lb

पोखरेली कविताप्रेमी स्रष्टा साधकका बीच अग्रज साहित्यकार एल.बी. क्षेत्रीका कविता गुञ्जिएका छन् ।

एलबी क्षेत्रीको सम्बोधन एकल कविता वाचन नाम दिएको उक्त कार्यक्रममा पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद, नारीअस्तित्व, विद्रोह, प्रकृतिबिम्ब र प्रेमलाई विषयवस्तु बनाइएका कविता वाचन गर्दा पटक–पटक पुनः सुनाउन आह्वान गर्दै गरमागरम परिवेश सिर्जना गरेर क्षेत्रीले आफ्नो कवितात्मक सम्बोधन टुङ्ग्याएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार रहेका क्षेत्रीको उक्त सम्बोधनको चाँजोपाँजो अनेसास गण्डकी समितिले मिलाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले क्षेत्रीलाई सम्मान अर्पण गर्दै एकातर्फ आफ्ना मित्रको सम्बोधनमा साथीहरूलाई खबर गरेको र अर्कातर्फ आफैँ प्रमुख अतिथि हुनु परेको विचित्रको भूमिकामा उभिन परेको बताए । उनले क्षेत्रीलाई कुशल कवि, कथाकार मात्र नभएर साहित्यसङ्गठकका रूपमा पनि चिनाए ।

एल बी क्षेत्रीको सम्बोधन नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले आफूलाई कवि ठान्नेहरूले कविता कुन बाटोमा हिँड्दै छ भनेर प्रश्न गर्दा पैँठेजोरी खेल्ने गरेकाप्रति दुःख व्यक्त गरे ।

आफू पोखरामा पटक–पटक आएपछि यो रूपमा पहिलो पटक आएको बताउँदै क्षेत्रीले आफ्ना कविता रुचिकर लागे दुवै चरणका सुनिदिन र नलागे पहिलो चरणका कविता सुनेर जान सक्ने बताए पनि स्रोता अन्तिमसम्मै उनका कविता सुनेर बसेका थिए ।

काट्, छम्टी, निमोठ्
जे गरे नि गर्
तर एउटा कुरा बुझिराख्
हे मान्छे, म प्रकृति, सिर्जना निर्माण
उम्रन छाड्दिनँ, पलाउन बिर्सन्नँ
आकाशिने लक्ष्य त्याग्दिनँ
यो मेरो, नियम, नियति र निर्णय ।

समसामयिक विकृति र विसंगतिप्रति कडा व्यङ्ग्य गरिएका झण्डै दुई दर्जन कविता सुनाउँदै क्षेत्रीले आफूलाई कवि नभएर कविताप्रेमी मात्र भन्न रुचाए ।

अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले वाङ्मयिक अध्ययन, अनुसन्धान र साहित्यिक संगठनमा क्रियाशील क्षेत्रीका कर्म र कृतिले पृथक पहिचान स्थापित गरेको धारणा राखे ।

संक्षिप्त चिनारी राख्दै असफल गौतमले २०४४ सालदेखि २०७० सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका साथै क्याम्पस प्रमुख भएर पु¥याएको शैक्षिक योगदान स्तुत्य रहेको बताए ।

अनेसास गण्डकीकी उपाध्यक्ष दुर्गा न्यौपानेले कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्री प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील प्रतिभाका रूपमा चिनाइन् । अनेसास गण्डकीको पेजबाट लाइभ प्रशारण गरिएको कार्यक्रम विभिन्न च्याप्टरका अनेसासका आजीवन सदस्य तथा क्षेत्रीका शुभेच्छुकले कविता श्रवण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ