गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव शुभारम्भ 

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव शुभारम्भ 

FB_IMG_1641007919823

बागलुङ । जिल्लाको मध्य भाग गलकोट नगरपालिका पुरानो सदरमुकाम हो।

यहाँका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन र खेलकुद तथा संस्कृतिको प्रवर्द्वन गर्न शुक्रबार देखि गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव सुरु भएको छ।

गलकोट नगरपालिका ६ मजुवा फाँटमा महोत्सव आयोजना गरिएको आयोजक संस्था ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए। महोत्सवको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले उदघाटन गरेका छन्। कार्यक्रममा बोल्दै नगर प्रमुख गैरेले युवाहरु भावी दिनहरुमा कर्णधार मात्र नभएर आजका साझेदार पनि भएको बताए।

उनले महोत्सवले गलकोटको कला सँस्कृति सँगै खेलकुदको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने उल्लेख गरे।

जनप्रतिनिधिले जनताको काम शासकका रुपमा भन्दा पनि सेवकको रुपमा सम्पादन गर्नुपर्ने उनको भनाई छ।

सो अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले युवाहरु अग्रसर भएर गलकोटमा महोत्सव सञ्चालन गर्नु सुखद पक्ष रहेको बताईन । कार्यक्रममा ड्रिम टिम गलकोटका संरक्षक तिलक उप्रेतीले समृद्ध गलकोट निर्माणका लागि युवाहरुको एकता आवश्यकता रहेको बताए।

उदघाटन समारोहमा नेकपा एमाले गलकोटका प्रतिनिधि ओम सुनार, नेपाली काँग्रेस गलकोट नगरपालिकाका सचिव योगेश भण्डारी, नेकपा माओवादी केन्द्र गलकोट नगर प्रतिनिधि डिल बहादुर परियार, राष्ट्रिय जनमोर्चा गलकोट नगर सचिव लाल बहादुर राना, गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्री, गलकोट बहुमुखी क्यामपसका क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले बोलेका थिए।

महोत्सवमा गलकोट नगरपालिका भित्रका कला संस्कृती झल्कने भजन किर्तन, पञ्चेबाजा, लाखे नाँच सहित झाँकी प्रदर्शन गरिएको थियो।

महोत्सवको नेपाल पत्रकार महासंघ बागलुङका पुर्व सचिव राम थापा अविरल र सामुदायिक रेडियो गलकोट एफ एमका कार्यक्रम संयोजक सरिता खत्रीले सञ्चालन गरेका थिए।

महोत्सव अवधिभर ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुती रहने महोत्सवका कार्यक्रम संयोजक होम थापाले जानकारी दिए। महोत्सवलाई थप आकर्षण बनाउन विभिन्न प्रदर्शनी स्टलहरु, व्यापारिक स्टलहरु राखिएका छन्।

महोत्सवमा दर्शकहरुको आकर्षण थप्न हेलिकोप्टर मार्फत गलकोट क्षेत्र, पर्यटकीय गन्तव्य घुम्टे लेक र ढोरपाटन सम्म दृश्यावलोकन गर्न सकिने छ।

पौष २६ गते सम्म सञ्चालन हुने महोत्सवमा गलकोटमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको पालिका स्तरिय भलिबल प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, गलकोट डान्स च्याम्पिएन, गलकोट आईडल, दरमखोलामा माछा छोप्ने प्रतियोगिता, कालीलेक दौड प्रतियोगिता, माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला लगायतका कार्यक्रमहरु आयोजना गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ