पोखरा । मणिपाल शिक्षण अस्पतालको प्रशासनमा झण्डै ३ महिनादेखि ताला लागेको छ । कर्मचारीले अस्पतालबाट पाउने सेवा, सुविधा कटौती भएपछि अस्पतालका कर्मचारीको युनियनले २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरेको हाे ।
कर्मचारी पाउँदै आएको सुत्केरी बिदा, चार्डपर्व र किरिया बिदासमेत अस्पतालले नदिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । २०५९ मा नेपालमा पहिलो पटक निजी क्षेत्रबाट खुलेकोे अस्पतालले पोखरामा मेडिकल सेवासँगै ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ । यहाँ सयौं नेपालीले रोजगारी पाएका छन् । रोजगारी पाए पनि अस्पताल प्रशासनले सेवा, सुविधा कटौति गरेको युनियनको आरोप छ ।
अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको सम्झौता अनुसार सेवा, सुविधा नदिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मणिपाल कर्मचारी युनियन समन्वय समिति अध्यक्ष जीवनबहादुर थापाले बताए । ‘ठूलो संख्यामा कर्मचारी कटौती भएको छ । कामको लोड त छँदै छ, त्यसमाथि काम गरे अनुसारको तलब रोक्ने, सेवा, सुविधा कटौती गर्ने गरी दुःख दिइयो,’ थापाले भने ।
उनले अस्पतालले दसैं, तिहारमा सेवामा खटाएका कर्मचारीको पारिश्रमिकसमेत नदिएको सुनाए । सबैले घरमा चार्डपर्व मनाउँदा अस्पताल आएर सेवा दिने कर्मचारीको अतिरिक्त पारिश्रमिकसमेत काटिएको उनले आरोप लगाए ।
युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा समेत निवेदन दिएको थियो । तर, श्रम तथा रोजगार कार्यालय पोखराले दिएको निर्देशनसमेत मणिपालले कार्यान्वयन गरेन । ‘अर्को दसैं आउन लाग्यो, पहिलेकै पारिश्रमिक पाएका छैनौं, कर्मचारीको मनोविज्ञान कस्तो हुन्छ ? प्रशासनले जे गरे पनि हुन्छ?,’ थापाले आक्रोश पोखे । उनले अहिलेसम्म कुनै सरकारी निकायले कर्मचारीको अवस्था र पारिश्रमिकका बारेमा नबुझेको दुृखेसो गरे ।
‘सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर कर्मचारी खटाइएको छ । न्यूनतम सुविधासमेत कर्मचारीलाई नदिने अटेरी प्रशासनका बारेमा विभिन्न निकायमा निवेदन उजुरी दिँदासमेत सुनुवाई नभएपछि तालाबन्दी गरिएको हो,’ थापाले भने, ‘प्रशिक्षार्थी स्टाफ नर्स राखी वर्षौै काम गरेकालाई निरुत्साहित गरिएको छ ।’
मेडिकल अस्पतालले प्रशिक्षार्थी स्टाफ नर्सलाई बढीमा ६ महिनामात्र बिरामीको उपचारमा लगाउन पाउँछन् । तर, प्रशिक्षार्थीलाई वर्षौसम्म उपचारमा खटाइएको कर्मचारी युनियनको आरोप छ । कर्मचारीले पाउनुपर्ने सञ्चित बिदा पनि नपाएको उनी बताउँछन् ।
कर्मचारीले गत जेठमा पनि सेवा, सुविधा नपाएको भन्दै आन्दोलन गरेका थिए । त्यति बेला पनि कर्मचारीको माग तलबभत्ता वृद्धि नै थियो । अस्पतालले १८ महिनादेखि आफ्ना माग सम्बोधन गर्नु त परको कुरा वार्तासमेत नगरेको उनीहरुको भनाइ छ । अस्पतालले २०७७ कात्र्तिक ५ मा बनेको सामूहिक सौदाबाजीको मागपत्रमा पनि हालसम्म छलफल गर्न नमानेको कर्मचारी युनियनको दाबी छ ।
अस्पतालले कर्मचारीको कोरोना बिमा गरिदिएको थियो । बिमा गरिदिए पनि कोभिड भएपछि कर्मचारीले पाउनुपर्ने रकम अस्पतालले राखेको आरोप कर्मचारीले लगाएका छन् । ‘अस्पतालमा काम गर्दागर्दै कर्मचारीलाई कोरोना भयो । तर, उपचार हुँदा अस्पतालमा भएको खर्चसमेत अहिले तलबबाट काटिएको छ,’ कर्मचारीको एकै स्वर छ ।
मणिपालले बाहिरका अरु अस्पतालले भन्दा धेरै सेवा, सुविधा दिएको दाबी गर्ने गरेको छ । तर, अस्पतालले ३० वर्षदेखि काम गरिरहेका कर्मचारीलाई देखाएर यस्तो दाबी गरेको कर्मचारीहरु बताउँछन् । ‘यसले नयाँ आउनेहरु मर्कामा परेका छन् । पाउनुपर्ने पारिश्रमिक र बिदामा कटौती गरिएको छ,’ अस्पतालका एक कर्मचारीले भने ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो