सुरक्षा संवेदनशीलतालाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

सुरक्षा संवेदनशीलतालाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

security meeting baglung 2

बागलुङ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बुधबार बागलुङमा भएको छ । वार्षिक कार्यक्रम अनुसार चैत २० गते ७ जिल्लाको बैठक तनहुँमा भएको र बाँकी ४ जिल्लाको बैठक बागलुङमा गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए ।

बैठकको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलशासन व्यवस्था अनुसार प्रहरीको भूमिका फरक हुने भन्दै दक्षता र योग्यता अनि अनुभव तिखार्दै मैदानमा उत्रनुपर्ने भनाइ राखे ।

प्रहरीलाई स्रोत साधनयुक्त बनाउन राज्य संयन्त्र उदार हुन नसकिएको स्वीकार गर्दै उनले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरे नागरिकलाई सेवा प्रदान गर्न निर्देशन दिए । उनले भने, ‘सुरक्षा संवदेनशीललाई ख्याल गरेर त्यही अनुसार कार्यसम्पादन गर्नु होला ।

समाजलाई सुरक्षा प्रदान गर्ने प्रहरी आफै सुरक्षित छैन भने कसरी फिल्डमा उत्रन सक्छ, भन्नेतर्फ सरकार संवेदनशील रहेको बताए । ३ तहका सरकारबीच समन्वयको खाँचो देखिएको उनले उल्लेख गरे । हिमाली क्षेत्रमा विपदका बेला उद्धार र राहतका लागि विशेष व्यवस्था गर्नेमा सरकार तत्पर रहेको प्रतिबद्धता उनले जनाए ।

आन्तरिक मामिला मन्त्री डोवाटे विकले विपद व्यवस्थापन र सुरक्षा संयन्त्र चुस्त बनाउन प्रदेश सरकार क्रियाशील रहेको भनाए राखे । जिल्ला प्रशासनले प्रदेशमा समेत विपदका घटनाका बारेमा जानकारी गराइदिन उनले आग्रह गरे । ‘प्रदेशबाट छिटो समाधान गर्न सकिने कतिपय विषयहरु छन् । यसमा सूचना दिन कन्जुस्याइँ नगरिदिनुहोला,’ उनले भने ।

कार्यक्रममा प्रमुख सचिव रविलाल पन्थले जिल्लामा शान्ति सुरक्षाका सन्दर्भमा काम गर्न कसैलाई सोध्नुपर्ने अवस्था रहेको भन्दै ढुक्क भएर काम गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे । प्रहरीको संख्या बढाएर मात्र शान्ति सुरक्षा कायम हुने होइन भन्दै निगरानी र अनुसन्धान बढाउन नागरिकले अनुभूति गर्ने गरी काम गर्न सकिने उनको भनाइ थियो । अनुशासन, चेन अफ कमान्ड कायम राख्नुपर्ने भन्दै उनले प्ररहीलाई स्रोत साधन सम्पन्न गराउन प्रदेशले सक्दो सहयोग गर्दै आएको भनाइ राखे ।

मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले सुरक्षा व्यवस्था चुस्त पार्दै अमनचयन कायम गर्नु राज्यको पहिलो दायित्व रहेको बताए । विकास निर्माणका काम अवरुद्ध हुन नदिने अवस्था आउन नदिन प्रमुख जिल्ला अधिकारीहरु चनाखो हुनुपर्ने उनको भनाइ थियो । आन्तरिक मामिला सचिव बद्रीनाथ अधिकारी बैठकका क्रममा उठेका विषयवस्तुलाई प्रदेश सरकारले स्रोत र साधन अनुसार संवोधन गर्दै जाने भनाइ राखे ।

नेपाली सेनाको श्री नम्बर २३ वाहिनी मुस्ताङका वाहिनीपति सहायक रथी रामप्रसादले सुरक्षा संवेदनशीलतको आँकलन गर्दै नेपाली सेनाले रणनीति बनाइरहेको बताए ।

राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश प्रमुख कुलदेव थापाले नजिकिँदो चुनावमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा नै मुख्य चुनौती रहेको बताए । चीनको सीमाबाट हुने अवैध क्रियाकलाप, नदीजन्य पदार्थको उत्खनन्, प्राकृतिक दोहन, चोरी निकासी पनि अर्को चुनौती रहेकाले त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताए ।

सशस्त्र प्रहरी बल मुक्तिनाथ वाहिनीका वाहिनीपति डिआइजी शम्भु रेग्मीलेभौतिक पूर्वाधारको कमीकै कारण धेरै जिल्ला सशस्त्र प्रहरीहरु अरु कार्यालयका पुराना भवनमा बस्नु परेको बताए । बागलुङको गुल्मका सुरक्षाकर्मी तरकारीको टनेलमा समेत रात विताउन बाध्य रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनीले समायोजन ऐन आएर पनि कार्यान्वयन नभएर बीचको अवस्थामा काम गर्न केही असहज भएको बताए । तै पनि प्रदेश सरकारले नियमित रुपमा सहयोग गर्दै आएको भन्दै उनले चुनाव लक्षित रणनीतिक निर्माणकै क्रममा रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरु बागलुङका रमेश ढकाल, मुस्ताङ नेत्रप्रसाद शर्मा, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी रानाले जिल्लाको समग्र सुरक्षा अवस्था, स्थानीय तहसँगको समन्वय, प्रदेश सरकारसँगको अपेक्षाका बारेमा प्रस्तुती राखेका थिए । यस अघि चैत २० मा तनहुँको आँबु खैरेनीमा तनहुँ, गोरखा, कास्की, लमजुङ, मनाङ, स्याङ्जा र नवलपुरको बैठक भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ