जैमिनीमा मेयर उठ्दै त्रिचन्द्रको स्ववियु हाँकेका हरिप्रसाद 

जैमिनीमा मेयर उठ्दै त्रिचन्द्रको स्ववियु हाँकेका हरिप्रसाद 

hari acharya 2

बागलुङ । कांग्रेस नेता हरिप्रसाद आचार्य बागलुङको जैमिनी नगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । नेविसंघ, तरुण दलमा लागेका बागलुङ जैमिनी नगरपालिका १, कुस्मीसेराका आचार्य आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयर बन्ने दौडमा लागेका हुन् ।

६० वर्षीय उनी दुई महिनादेखि गाउँगाउँ पुगेर भेटघाटमा व्यस्त छन् । बागलुङबाट पढ्न काठमाडौँ पसेका हरिप्रसाद २०५३ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बनेका थिए । उनी अहिले भूगोलको राजनीतिमा सक्रिय हुन प्रयासरत छन् ।

विद्यार्थी कालदेखि नै पार्टीलाई योगदान दिएको, नगरपालिका विकासका योजना भएकाले आफू मेयरको बलियो दाबेदार भएको आचार्यको दाबी छ । उनी भन्छन्, ‘म त्रिचन्द्रमा स्ववियु सभापति भएको मान्छे । तरुण दलमा पनि काम गरेँ । मसँग राजनीतिक अनुभवसँगै नगरपालिकामा जनताले खोजेजस्तै विकास गर्ने योजना छन् ।’

शिक्षा, सडक र स्वास्थ्य पूर्वाधार आफ्नो प्रमुख एजेण्डा हुने उनको भनाइ छ । ‘वडा–वडाका सडक व्यवस्थित बनाउँछु । हरेक वडामा एउटा मुख्य सडक मेरो प्राथमिकता हुनेछ । नगर अस्पताल बनाएर एमडी गरेको डाक्टर ल्याएर स्वास्थ्य पूर्वाधार विकासमा लाग्छु,’ आचार्यले सुनाए । गठबन्धन भए पनि गत निर्वाचनमा कांग्रेसले मेयर जितेको र अहिले पनि पाउनुपर्ने अडान स्थानीय कांग्रेस नेताको छ । कांग्रेसबाट एक दर्जन आकांक्षीबीच आचार्य पनि मेयर बन्ने दौडमा लागेका हुन् ।

को हुन् हरिप्रसाद ?

बागलुङका हरिप्रसाद २०५३ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बनेका थिए । २०५३ सालमा सभापति भएपछि युवा नेतालाई अघि सार्नुपर्छ, भनेर महाधिवेशन प्रतिनिधि बनाइयो, महासमिति सदस्य पनि भए । हरि नवौँ, एघारौँ र बाह्रौ महाधिवेशनमा प्रतिनिधि बनेका थिए । २०६७ सालमा उनी बागलुङ क्षेत्र नम्बर २ बाट महासमिति सदस्य बनेका थिए ।

हाल कांग्रेसको महामन्त्री रहेका गगन थापालाई नेविसंघमा सक्रिय बनाउनेमध्येका एक हरिप्रसाद पनि हुन् । २०५१ सालमा हरिप्रसाद त्रिचन्द्रको स्ववियु सचिव हुँदा गगनलाई सदस्यमा ल्याएका थिए । हरि र गगनले २०५३ सालमा स्ववियुमा सभापति र सचिव भएर काम गरे ।

२०३६ सालदेखि नेविसंघमा लागेका आचार्य त्यतिबेला जनमत संग्रहमा बहुदलको पक्षमा खह्रो उत्रिएका थिए । राजनीतिक जीवनमा उनले पटकपटक हिरासत बसे । वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा अध्यनरत रहँदा २०४२ सालको सत्याग्रहमा सहभागी भई हिरासत परेका थिए । ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ मा नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी र नेपाली काँग्रेस धौलागिरी काठमाडौँ समितिको अध्यक्षको जिम्मेवारीमा रही काठमाडौँ उपत्यकामा आन्दोलनको परिचालन गरेका थिए । त्यही आन्दोलनलाई परिचालन गर्दा घाइते पनि भएका थिए ।

२०४९ सालमा उनी ब्याच्लर पढ्न बागलुङबाट काठमाडौँ गएका थिए । आचार्यले तथ्यांकशास्त्रमा एमएस्सी र समाजशास्त्र–मानवशास्त्रमा एम.ए गरेका छन् । उनीसँग अध्यापनको अनुभव पनि छ । बागलुङको छिस्तीस्थित जनकल्याण माविमा तीन वर्ष र जनता मावि पैँयुथन्थापमा एक गरेर चार वर्ष गणित र विज्ञान पढाए । चार वर्ष पढाएपछि उनी ब्याचलर पढ्न काठमाडौँ गएका थिए ।

आचार्य नेपाल तरुण दलको केन्द्रिय समितिमा रहँदा भारत, दुबई, बेल्जियम, फ्रान्स, होल्याण्ड, जर्मनी र बहराइनलगायत राष्ट्रहरुमा विश्व युवा सम्मेलन तथा अन्य विविध कार्यक्रमहरुमा सहभागी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ