पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका कृष्ण थापा र मञ्जुदेवी गुरुङले शुक्रबारदेखि चुनावी प्रचार अभियान थालेका छन् ।
वडा नम्बर १६ निवासी प्रमुखका उम्मेदवार थापाले आफ्नै वडाबाट चुनावी प्रचार अभियान थालेका हुन् । वडा नम्बर १६ को जोगीमणिमा घरदैलोसहित कोण सभा भएको छ । चुनावी सभामा बोल्दै प्रमुखका उम्मेदवार थापाले निर्वाचित भएपछि पाँच वर्ष पोखरेली जनाताको सेवा गर्ने र फेरि चुनावमा उम्मेदवार नबन्ने घोषणा गरे ।
‘हामी पार्टीको बफादार सिपाही हो, पार्टीले देश र जनताको लागि मर्न तयार हुनु पर्दछ भन्यो भने पनि तयार हुनु पर्दछ,’ थापाले भने,‘ विषम परिस्थितिमा पार्टीले प्रमखको उम्मेदवार बनाएको छ, त्यसैले यो मेरो अन्तिम चुनाव हो, फेरि चुनाव लड्दिन ।’ स्थानीय तह चुनावमा आफूहरु जनताको प्रतिनिधि पात्रको रुपमा उम्मेदवार भएको थापाको भनाइ छ । ‘भौतिक रुपमा मेरो उम्मेदवारी भएपनि, यो उम्मेदवारी आम पोखरेली जनताको रुपमा मैले लिएको छु,’ थापाले भने,‘ प्रमुखमा निर्वाचित भएपछि पाँच वर्ष पोखराको विकास र पोखरेली जनताको हितमा देखिने गरी काम गर्नेछु । ’
२०५४ सालमै तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रमुख भएर कार्य अनुभव बटुलेका थापाले नेपालमा बहुदलीय व्यवस्था स्थापानापछि बितेको पाँच वर्षमा सबै भन्दा धेरै विकास र पूर्वाधार निर्माण भएको र यसको नेतृत्व एमालेले गरेको बताए ।
२०७४ को निर्वाचिनमा पोखरामा निर्वाचित प्रमुख मानबहादुर जिसीसहितको टिमले संघियता कार्यान्वयनको जग बलियो बनाएको थापाले बताए । ‘ संघियताको जग बसेको छ,’ थापाले भने,‘ त्यही जगमा टेकेर समृद्ध पोखरा र जनतालाई सुशासनको अनुभूति हुने गरी काम गर्नेछु ।’
सेवा सुविधा सामाजिक कार्यमा
पोखरा महानगर उम्मेदवार थापाले मेयरमा निर्वाचित भएपछि पाउने सेवा, सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताए । ‘जनप्रतिनिधि जनताको सेवक हो शासक होइन,’ थापाले भने,‘ जनप्रतिनिधिका रुपमा पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्नेछु ।’ उम्मेदवार थापाले एमालेबाट फुटेर गएकाले आफू एमाले मै छु भनेर भोट मागेकोले त्यस्तो भ्रममा नपर्न उनले नेता, कार्याकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले पाँच वर्षमा पोखरामा जनप्रतिनिधिले गरेको विकास निर्माण घाम झै छर्लङग भएको बताइन् । महानगरमा सफल रुपमा उपप्रमुखको जिम्मेवारी निर्वाह गरेकी गुरुङले संघियतालाई कार्यान्वयन तहमा लैजान यो पाँच वर्ष कोषेढुंगा सावित भएको बताइन् । यो पाँच वर्षमा जनताले महसुस गर्ने र देखिने गरी विकास निर्माण भएको गुरुङको भनाइ छ । विकास निर्माणसँगै पोखरालाई समृद्ध बनाउन एमालेकै नेतृत्व आवश्यक छ,’ उनले भनिन ।
वडा नम्बर १६ का अध्यक्षका उम्मेदवार राजेश गुरुङले एमालेको नेतृत्वमा मात्र विकास र समृद्धि सम्भव भएको बताए । यो पाँच वर्षमा वडा नम्बर १६ मा सडक, खानेपानी लगायत जनताका आधारभूत आवश्यकतालाई पूरा गर्न सकिएको भन्दै आगामी पाँच वर्षमा बाँकी रहेका कामलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले अहिलेको चुनाव विकास प्रेमी र विकास विरोधी बीचको चुनाव भएको बताए । जनताले विकास प्रेमी एमालेका उम्मेदवारलाई विजय गराउनेमा आफू विस्वस्त रहेको आचार्यको भनाइ छ ।
वडा नम्बर १६ चुनाव परिचालन कमिटी संयोजक विनोद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव यमनकाजी गुरुङले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए भने कलाकार पदमराज ढकाल, जीवन दाहाल, शिवहरि ढुंगाना,, रतिमाया खड्का, लक्ष्मी नेपाली, माया गिरी, बुद्धि खनाल र शीतला अधिकारीले गीत मार्फत् एमालेका उम्मेदवारको पक्षमा भोट मागेका थिए । प्रमुख र उपप्रमुखसहितका उम्मेदवारले पोखरा १६, १ र २५ नम्बर वडामा घरदैलोसहित चुनाव प्रचार कार्यक्रम गरेका छन् ।
एमालेलाई मतदिने दलित समुदायको प्रतिवद्धता
पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलाका दलित समुदायले एमालेका उम्मेदवारलाई मत दिने प्रतिवद्धता व्यक्त गरेका छन् । एमालेकै सरकारले वृद्ध भत्ता बाँडेको र दलितलाई ६० वर्षमै वृद्ध भत्ता दिने व्यवस्था गरेकाले एमाले उम्मेदवारलाई जिताउने उनीहरुले बताएका हुन् ।
जोगीमणिको चुनावी सभामा बोल्दै ७३ वर्षीया कोप्ची कामीले एमालेकै कारण दलितले ६० वर्षमा वृद्ध भत्ता भएको बताइन् । उनले अब ५५ वर्षमै भत्ता दिने व्यवस्था मिलाउन समेत एमालेका मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जुदेवी गुरुङसहितको उम्मेदवारको टोलीसँग आग्रह गरिन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो