बाबुछोरीको ज्यान जाने गरी भएकाे दुर्घटनाका कार चालक एन्जिल बम मल्ल अझै फरार

बाबुछोरीको ज्यान जाने गरी भएकाे दुर्घटनाका कार चालक एन्जिल बम मल्ल अझै फरार

anjil bam malla

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १ (ढिकुरपोखरी), लेवाडेमा आइतबार बिहान भएको दुर्घटनामा संलग्न कार चालक अझै फरार छन् । घटना भएको दुई दिनसम्म कास्की प्रहरीले चालक पर्वतको कुस्मा १ मा बस्ने २७ वर्षीय एन्जिल बम मल्ललाई पक्राउ गर्न सकेको छैन ।

पर्वतबाट पोखरा फर्कँदै गरेर बाबुछोरी सवार ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार १८ वर्षीया सुजिना तिलिजा पुनको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक ४५ वर्षीय जीतबहादुर पुनको उपचारकै क्रममा सोमबार मृत्यु भयो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटनामा संलग्न चालकको खोजी कार्य जारी रहेको र कास्की प्रहरीको अफिसयल फेसबुक पेजबाट सार्वजनिक सूचना जारी गरेको बताए ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले कारमा सवार तीन जना साथीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै चालक मल्ललाई चाँडै नै पक्राउ गर्ने बताए । ‘अहिलेसम्म चालक फरार नै छन् । तर, हामी चाँडै नै पक्राउ गर्छौँ । दोषी उम्कन सक्दैन ।’ तिवारीले भने ।

रक्सी खाएर लापरबाहीपूर्वक कार चलाउँदा दुर्घटनाः प्रहरी

कास्की प्रहरी प्रवक्ता तिवारीले घटनामा संलग्न कार चालकले रक्सी सेवन गरी कार हुँइक्याएको पुष्टि गरे । कारमा सवार अन्य साथीहरुले पनि मापसे गरेको र उनीहरुको बयानअनुसार चालकले पनि मापसे गरेको खुलेको हो । शनिबार पोखरा आएर लेकसाइड बसी रातभर रमाइलो गरेपछि बिहानै बागलुङतर्फ गएको बयान दिएका छन् । बाटोमा हेम्जाको घट्टेखोलामा फेरि बियर पिएर उकालो लागेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा थियो । घुम्तीमा बसलाई ओभरटेक गर्दै अघि बढ्दा गलत लेनमा रहेको कारले आफ्नै बाटोमा आइरहेको मोटरसाइकललाई ठक्कर दियो । कारको अघिल्तिरको भागमा पूर्ण क्षति पुगेकाले पनि तीव्र गतिमा कार हुइंकिएको पुष्टि हुन्छ ।

घुम्तिमा ओभरटेक गरी आफ्नै लेनमा गुडेको मोटरसाइकललाई ठक्कर

ठक्करपछि कारमा सवार युवाहरुले दुई जना घाइतेलाई सहयोग गर्नुको सट्टा भागे । दुर्घटनापछि स्थानीयहरू जम्मा हुनासाथ कार चालक मल्ल मकैबारीतिर हामफालेर भागेका हुन् ।

डिएसपी तिवारीले कार चालकले गम्भीर लापरवाही गरेको देखिएकाले अधिकतम सजाय हुने बताए । मापसे गरी सवारी चलाएर दुई जनाको ज्यान गएको र ठक्करपछि भागेकाले हिट एण्ड रनमा समेत सजाय आकर्षित हुने उनले बताए ।

कास्की प्रहरीले आफ्नो अफिसियल फेसबुक पेज मार्फत् चालकको तस्वीरसहित खोजतलास सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ ।

आफन्तले शव बुझेनन्

मृतकका आफन्तले बाबुछोरीको शव बुझेका छैनन् । कारका चालकलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने उनीहरूले बताएका छन् । कार चालक फरार रहेको र प्रहरीले पक्रिन उदासीनता देखाएको भन्दै पोखरा–बागलुङ राजमार्गको हेमजास्थित याम्दी पुलमा सोमबार केहीबेर उनीहरूले सडक अवरुद्ध गरे । त्यसअघि, पोखरा गैह्रापाटनथित जिल्ला प्रहरी कार्यालय कास्कीसमेत घेराउ गरेका थिए ।

ट्युशन पढ्न बिहानै पोखरा फर्केकी थिइन् सुजिना

मातातीर्थ औंसीमा आमाको मुख हेर्न शुक्रबार पोखराबाट पर्वतको कुश्मा ४, पूरानोचौकी घर गएकी सुजिनाको यो भेट नै अन्तिम बन्यो । पोखराको अर्चलबोटमा आफन्तकोमा बसेर उनी माउन्ट अन्नपूर्ण क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् । जेठ १६देखि हुने परीक्षाको तयारीमा रहेकी उनले ट्युशन पढिरहेकी थिइन् । यही ट्युशन भेट्टाउन बिहानै बुबालाई पोखरा छाड्न भनिन् ।

बिहान ७ बजे नै बाबुछोरी ढिकुरपोखरी आइपुगे थिए । तर, रक्सी खाएका अल्लारेले हुँइक्याएको कारले ठक्कर दिँदा बाबुछोरी नै रहेनन् । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा सवार बाबुछोरी नै उछिट्टिएर २० मिटर पर बजारिए । दुर्घटना भएको केहीबेरमै उनीहरूलाई पोखराको मेट्रोसिटी अस्पताल ल्याए पनि सुजिनालाई चिकित्सकले मृत घोषित गरे । जीतबहादुरको उपचार हुँदाहुँदै सोमबार बिहान निधन भयो । अहिले दुवैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ