पोखरामा एमालेका मेयर उम्मेदवारलाई उपमेयरभन्दा २१ सय ३१ मत कम

पोखरामा एमालेका मेयर उम्मेदवारलाई उपमेयरभन्दा २१ सय ३१ मत कम

Krishna Manju

पोखरा महानगरपालिकाको कुल खसेको मतमध्ये ४१ हजार ४२३ (२८.९२%) मत गणना भएको छ । पोखरामा २ लाख ७ हजार ७१२ जना मतदाता रहेकोमा १ लाख ४३ हजार २२६ (६८.९५) मत खसेको थियो ।

पोखरामा सुरुदेखि नै गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । एमालेबाट उम्मेदवार रहेका कृष्णबहादुर थापा २ हजार ३२ मतले आचार्यभन्दा पछाडि छन् । हालसम्म गणना भएकोमध्ये उपमेयरमा एमालेकी मञ्जु देवीले थापाले भन्दा २१ सय ३१ मत बढी पाएकी छन् । त्यसैलाई आधार बनाएर उपमेयरमा मञ्जुलाई भोट दिएका २१३१ मतदाताले थापालाई भोट नदिएको एमालेकै नेताहरू बताउँछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ ६ बजे सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा एमालेका थापाले १५ हजार २१० मत पाएका छन् । एमालेकी मञ्जु देवीले १७ हजार ३४१ मत ल्याएकी छन् । यी दुईको मतान्तर २१ सय ३१ हुन्छ ।

गठबन्धनबाट मेयर उम्मेदवार रहेका आचार्यले गणना भएकोमध्ये १७ हजार २४२ मत र गठबन्धनकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले १७ हजार ४४३ मत पाएकी छन् । धनराज एमाले उम्मेदवारभन्दा २ हजार ३२ मतले अगाडि रहँदा कोपिला १ सय २ मतले अघि छन् । उपमेयरमा राप्रपाकी रञ्जना सेन पौडेलले १४ सय ७२ र विवेकशील साझाका माधव भण्डारीले ७८ मत मत ल्याएको निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।

मेयरमा राप्रपाका शंकर खरालले १६ सय ९८ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ९ सय २९ मत पाएका छन् । मेयरमा विवेकशील साझाकी सुशीला केसीले १ सय १८ मत ल्याएकी छन् ।

पोखरा १, २, ३, ४, ५, ६, १२, २३ नम्बर वडाको गणना सकिएको छ । यीमध्ये पोखरा १, ५ र ६ एमालेले जितेको छ भने बाँकी वडा नेपाली कांग्रेसले जितेको छ । यसअघि कांग्रेसले जितेको वडा नम्बर ६ यसपटक एमालेले जितेको हो भने बाँकी सात वडामा पुरानै पार्टीले जितेका हुन् ।

हालसम्म गणना भएका वडामा पहिलेको तुलनामा एमालेलाई क्षति नभए पनि ती वडाबाट मेयरमा मत क्रस भएर गठबन्धनका आचार्यलाई गएको छ । अर्थात् वडाध्यक्षमा एमालेले पाएको मत मेयरमा गठबन्धनका धनराजलाई गएको छ । पोखरामा ३३ वडा छन् । पोखरामा अझै १ लाख १ हजार ८०३ मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ