पोखरामा ७ घण्टापछि मतगणना पुनः सञ्चालन

पोखरामा ७ घण्टापछि मतगणना पुनः सञ्चालन

Shreekrishna Bhattarai

पोखरामा स्थगित मतगणना केही बेरमा शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवादका कारण रोकिएको मतगणना शुरु हुने जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले उजुरी परेको पोखरा वडा नं. १८ को विवाद सम्बन्धमा कारवाही प्रक्रिया अघि बढेको र हाललाई सर्वदलीय सहमतिमा गणना जारी रहेको २२, ३२ र ३३ नं. वडाको गणना कार्यलाई सुचारु गर्न लागिएको जानकारी दिए ।

पोखरा १८ को मतपेटिकामा ९ वटा मतपत्र कम भेटिएपछि एमालेका प्रतिनिधिले मतगणना रोक्न माग गरेका थिए । यसअघि ३१ नं. वडामा पनि ३ मतपत्र कम भेटिएको थियो ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएपछि एमालेले पुनः मतगणनाको माग गरेको हो ।  त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए ।

हारजीतको मतान्तर भन्दा बढी मतपत्र नभेटिएपछि आज पुनः गणनाको माग गरिएको र यो स्वभाविक रहेको नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

पोखराको जारी मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मध्यान्ह १२ बजेदेखि मतगणना स्थगित भएको थियो । पोखराको २२, ३२ र ३३ वडाको मत गणना भइरहँदा एमालेका प्रतिनिधिले गणनास्थल छोडेर हिडेपछि गणना रोकिएको थियो । नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा कुनै प्रकारको कमजोरी नरहेको जनाउँदै पुनः मतगणना गर्न नसकिने जनाउँदै आएको थियो । यही कारण दिनभर गणना कार्य प्रभावित बन्यो ।

काँग्रेस कार्यकर्ताहरुले मतगणना स्थलको मूलगेट बाहिर मतगणना कार्य तत्काल शुरु गर्नुपर्ने भन्दै मुख्य निर्वाचनको कार्यालय अगाडि नाराबाजी गरे । यस्तै, नेकपा एमालेका कार्यकर्ताहरुले पनि पुनः मतगणनाको माग गर्दै नाराबाजीमा उत्रिएका थिए । प्रहरीले काँग्रेस समर्थक टोलीसँग मुठभेडको अवस्था सिर्जना हुन नदिन एमाले कार्यकर्ताको टोलीलाई जिल्ला समन्वय समिति भवन बाहिरको गेटतिर पठाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds