पोखराको पर्यटन प्रवर्द्धन गर्न ‘डुलुवा’ टोली भारत भ्रमणमा

पोखराको पर्यटन प्रवर्द्धन गर्न ‘डुलुवा’ टोली भारत भ्रमणमा

duluwa

पोखरा ।  प्याराग्लाडिङ व्यवसायमा आवद्ध पोखराका युवा व्यवसायीको ‘डुलुवा’ टोली भारतिय पर्यटकलाई निम्तो दिन आइतबार भारत प्रस्थान गरेको छ। नेपाल भारत दौत्य सम्बन्धको विकाससँगै नेपालमा भारतिय पर्यटकलाई आकर्षित गर्न डुलुवामा आवद्ध २० मध्ये १९ जनाको टोली दुई साताका लागि भारत भ्रमणमा निस्किएको हो।

भ्रमण प्रस्थान गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिम लिडर योगेश भट्टराईले डुलुवा टोलीको स्थापना र टोलीले पर्यटन प्रवर्द्धनका लागि गर्दै आएका कार्यहरुबारे चर्चा गरेका थिए। उनले भारतिय बजारमाझ नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न भारतको अमृतसर, काश्मिर, कारगिल, लद्दाख, मनाली, सिम्ला, देहरादुन हुँदै नैनीतालसम्म पुग्ने योजना रहेको बताए। ‘राइड एण्ड ग्लाइड’ नाम दिइएको यो यात्रामा सम्भावित ठाउँहरुमा प्याराग्लाडिङ गरिने पनि उनले जानकारी दिए।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य व्यवसायी गणेश बहादुर भट्टराईले ‘डुलुवा’ नाम बारे स्पष्ट पार्दै ‘डुलुवा’ डुल्ने मात्र नभएर सिकाईको लागि गरिने भ्रमण रहेको बताए। उनले मानिसहरु दैनिक कामको बोझबाट केहीसमय मुक्तिका लागि भ्रमण तथा तीर्थ यात्रामा निस्कने र त्यसैको छोटो रुप ‘डुलुवा’ भएको बताए।

यस्तै, भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले आफूले पहिले पोखराको बारेमा सुन्दै आइरहेको बताउँदै यहाँ आएपछि पोखराको बारेमा सुनेको भन्दापनि धेरै राम्रो र फरक पाएको बताए। उनले पोखरा जस्तो सुन्दर ठाउँमा काम गर्न आउन पाउनु पूर्वजन्मको सत्कार्यको फल भएको भन्दै पोखराको सुन्दरताको प्रशंशा गरे। उनले भ्रमण टोलीलाई भारतमा आवश्यकता परेको खण्डमा आफूले सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गरे।

यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले नेपालका ग्रामिण क्षेत्रदेखि शहरसम्म पोखराको पर्यटनलाई विभिन्न पर्यटकिय गतिविधिबाट परिचित गराउन महत्वपूर्ण भूमिका खेलेकोमा ‘डुलुवा’ टोलीलाई धन्यवाद दिए। उनले पर्यटन प्रवर्द्धनका लागि मिसन र भिजन लिएर भ्रमणमा निस्कन लागेको टोलीलाई शुभकामना दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ