४७ वर्ष पछि रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

४७ वर्ष पछि रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

FB_IMG_1656575927893

पोखरा । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले भने, ‘पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले अब रुप फेर्दैछ ।’

आधा भाग ग्राबेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम गरेर पुर्न मेयर धनराज आचार्यले सहजिकरण गरिरहेको उनले बताए । यसैबीच पोखरा बसपार्कको बुधबार मेयर आचार्यले निरीक्षण गरेका छन् । पार्किङ गर्ने सबै भागमा ग्रावेल भरेर सम्याउने कामलाई सक्न र तत्कालका लागि धुलो र हिलो मुक्त बनाउन उनले निर्देशन दिए । त्यसपछि छिट्टै समस्या सल्ट्याएर डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्न महानगर लाग्ने उनले बताए ।

बसपार्क निरीक्षणका क्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो । गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्थित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा छ । झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ