गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं, मेखलाल श्रेष्ठको बुबाआमा नाममा १ करोड, कुमार खड्काको वडामा २५ करोड

गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं, मेखलाल श्रेष्ठको बुबाआमा नाममा १ करोड, कुमार खड्काको वडामा २५ करोड

Mekhlal kumar

पोखरा । आफू सम्मिलित सरकारले ल्याउने अन्तिम बजेटमा बहालवाला मन्त्रीहरुको मनोमानी छताछुल्ल भएको छ । आफ्नो परिवारको ट्रस्टमा करोड विनियोजन गर्नेदेखि चुनाव लक्षित गरी मतदाता रिझाउन एउटै वडामा २५ करोडसम्म पारेका छन् ।

गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं छ । बजेट स्रोतको १२ प्रतिशत मात्रै ऋण लिन सकिने व्यवस्था विपरीत यसभन्दा झण्डै ३० करोड नाघेर ऋण लिने प्रदेश सरकारको बजेट संवैधानिक हिसाबमै त्रुटिपूर्ण छ भन्दै विपक्षी दल एमालेले संसदसमेत अवरुद्ध गरेको अवस्था छ । मन्त्रीहरुको इन्ट्रेस्टका कारण चुनावी क्षेत्रमा आफू अनुकूल योजना बढ्दा यसरी बजेट नै संविधान विपिरत अाएकाे छ । एमालेकाे अनुसार १४ अर्ब ३३ करोड राजस्वको स्रोतको १२ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड मात्रै ऋण लिन संविधानतः मिल्छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारले एक करोड विनियोजन गरेको छ । भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको गृह वडा पोखरा १६ मा २५ करोड परेको छ ।

यसअघि, वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीकै अगाडि अर्थमन्त्री रामजी बराल जीवनलाइ धम्क्याएका थिए ।

थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बुबा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०/५० लाख विनियोजन गरिएको हो । स्याङजा भीरकोट नगरपालिका–१ स्थित पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।

पुननारायण र धनकुमारी ट्रस्ट नै बनाएर स्मृति गरिरहने नामहरु भने होइन । श्रेष्ठका बुबाआमा सामान्य नागरिक नै हुन् । यो मन्त्री श्रेष्ठले सत्ताको चरम दुरुपयोग गरेको उदाहरण हो। उनी कम विवादित नेता होइनन् । काँग्रेसले अघिल्लो सरकार विरुद्ध आन्दोलन गर्दा ड्युटीमा रहेका प्रहरी अधिकारीलाई ‘देखाइदिन्छु’ भन्दै धम्की दिँदा आलोचित बने । केही समय अघि मात्रै अर्थमन्त्रीलाई मुख्यमन्त्रीकै अघि जे पनि गरिदिने धम्की दिए । सामाजिक विकास मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयको ६६ लाख बजेट किन कटौति गरेको ? भन्दै आक्रोश पोखेका थिए। श्रेष्ठले मन्त्री बराललाई मन्त्री पद नै खोसिदिने भन्दै धम्क्याएका थिए।

सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् । निर्वाचन क्षेत्र विशेष कार्यक्रम काट्ने अडानमा रहेका अर्थमन्त्री बराल गलेपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएका हो । २८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो । समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले नै विरोध जनाएका थिए । विरोधपछि पनि पाेखरा १६ मै फेरि बजेट थुपारिएको छ । खड्काकाे रजगज राम्रै चलिरहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ