जनकपुरधाम । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन्।
सप्तरी सदरमुकाम राजविराज घर भएका ६७ वर्षीय भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा सुतेकै अवस्थामा शनिबार मृत भेटिएका हुन्।
शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए।
शुक्रबार बेलुका खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको बताइएको छ।
भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए।
भट्टराईको निधनपछि साधारण सभा पनि स्थगित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिए।
घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।