काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल २ रनले विजयी घोषणा गरिएको हो ।
आजको जितसँगै लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको छ ।
आजको खेलमा नेपालमा ४ जना खेलाडीले अर्धशतक बनाए । नेपालका लागि कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाए । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए । नेपालले लिग टू का पछिल्ला शृङ्खलामा निकै सनसनीपूर्ण नतिजा निकालेको छ । पछिल्ला १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी भएको छ । जम्मा एउटा खेलमा पराजित भएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् ।
एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए ।