पोखरा । देशका केही स्थानको मौसम आज सोमबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।